विद्यार्थी प्रकरणमा मिडियामाथि (KECAN) को प्रश्न, प्रेस काउन्सिलसँग माग्यो छानबिन

शुक्रबार, २० कार्तिक २०८३

काठमाडौं– जापानबाट नेपाल फर्किएका एक नेपाली विद्यार्थीसम्बन्धी घटनालाई लिएर सार्वजनिक भएका समाचार तथा सामाजिक सञ्जालका टिप्पणीप्रति कोरियाली शैक्षिक परामर्श संघ नेपाल (KECAN) ले आपत्ति जनाएको छ। संघले सम्बन्धित घटनामा सञ्चारमाध्यमले एकपक्षीय समाचार सम्प्रेषण गरेको भन्दै प्रेस काउन्सिल नेपालसँग छानबिन र अनुगमनको माग गरेको छ।

शुक्रबार जारी प्रेस विज्ञप्तिमा (KECAN) ले विशेषगरी सम्बन्धित शैक्षिक परामर्श संस्थाको कार्यालयमै पुगेर समाचार संकलन गर्ने क्रममा अपनाइएको कार्यशैली र एकपक्षीय रूपमा समाचार सम्प्रेषण भइरहेको विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। विद्यार्थीको हकहित, सुरक्षा, सम्मान र शैक्षिक भविष्यको संरक्षण आफ्नो प्रमुख प्रतिबद्धता रहेको उल्लेख गर्दै संघले कुनै पनि विद्यार्थीमाथि अन्याय, आर्थिक शोषण, गलत परामर्श, दुर्व्यवहार वा संस्थागत लापरवाही भएको भए निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउनुपर्ने बताएको छ। तर, आरोप लाग्दैमा कुनै व्यक्ति वा संस्थालाई दोषी ठहर गर्न नहुने उसको भनाइ छ।

समाचार संकलनका क्रममा केही सञ्चारकर्मी सम्बन्धित परामर्शदाताको कार्यालयमा पुग्दा कर्मचारी तथा सञ्चालकसँग प्रतिक्रिया माग्ने र दृश्य सामग्री संकलन गर्ने क्रममा असहज अवस्था सिर्जना भएको गुनासो प्राप्त भएको पनि प्भ्ऋब्ल् ले जनाएको छ। प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्ने उल्लेख गर्दै संघले समाचार संकलन गर्दा कानुनी सीमा, व्यावसायिक मर्यादा र मानवीय सम्मानको पालना हुनुपर्नेमा जोड दिएको छ।

सहमति वा कानुनी आधारविना दृश्य तथा श्रव्य सामग्री संकलन गर्ने, कर्मचारीलाई दबाब दिने र कार्यालयको नियमित कामकाजमा अवरोध पुर्‍याउने कार्य उचित नहुने विज्ञप्तिमा उल्लेख छ। संघले प्रेस काउन्सिल नेपालको पत्रकार आचारसंहिता, २०७३ ९पहिलो संशोधन २०७६० अनुसार समाचार प्रकाशनपूर्व सम्बन्धित पक्षको भनाइ लिन र तथ्य पुष्टि गर्नुपर्ने व्यवस्था स्मरण गराएको छ।

(KECAN) ले सम्बन्धित घटनामा प्रकाशित तथा प्रसारित समाचार सामग्रीको अध्ययन र अनुगमन गरी पत्रकार आचारसंहिता पालना भए–नभएको निष्पक्ष मूल्याङ्कन गर्न तथा उल्लङ्घन भएको पाइएमा आवश्यक पहल गर्न प्रेस काउन्सिल नेपालसमक्ष आग्रह गरेको छ। संघका महासचिव प्रमोद ढुंगानाद्वारा हस्ताक्षरित विज्ञप्तिमा घटनाको निष्पक्ष छानबिन, सत्यतथ्य सार्वजनिकता र कानुनी प्रक्रियाको सम्मान गर्नसमेत आग्रह गरिएको छ।

नेपालमा N–५ लेभलको भाषा परीक्षा पास गरेर बिनी ग्लोबल एजुकेशन एण्ड ट्रनिङ सेन्टरबाट जापान पुगेकी ती विद्यार्थी ६ महिना अध्ययन गर्दासमेत सोही लेभल पास गर्न नसकेपछि स्कुलले डिपोर्ट गरेको थियो । उनी डिपोर्ट भएर नेपाल आएपछि जनता मिडियाको सम्पर्कमा आएकी थिइन् । जनता मिडियाले बिनी ग्लोबलका संचालक मनोज काफ्लेसँग उनकै कार्यालयमा पुगेर विद्यार्थीको पक्ष लिंदै अन्तरवार्ता लिएका थिए । श्रोतले बिनी ग्लोबलले N–५ को सर्टिफिकेट नक्कली बनाएको वा भाषा परीक्षा लिने संस्थाले पास गराएको हुनसक्ने आरोप छ ।