एकपक्षीय समाचार र ‘मिडिया ट्रायल’ रोक्न इक्यानको अपिल

सोमबार, १६ कार्तिक २०८३

काठमाडौं – जापानबाट फर्किएकी एक नेपाली विद्यार्थीसम्बन्धी घटनामा समाचार संकलनका क्रममा परामर्श संस्थाको कार्यालयमा सञ्चारकर्मी पुगेको विषयलाई लिएर नेपाल शैक्षिक परामर्श संघ (इक्यान)ले आपत्ति जनाएको छ । इक्यानले आइतबार जारी गरेको ‘प्रेस काउन्सिल नेपालसमक्ष अपिल’ शीर्षकको विज्ञप्तिमार्फत आपत्ति जनाएको हो ।

विज्ञप्तिमा घटनासम्बन्धी समाचार, दृश्य सामग्री, अन्तर्वार्ता र टिप्पणीको निष्पक्ष समीक्षा गर्न काउन्सिललाई आग्रह गरेको छ। आरोप, प्रमाण र अनुसन्धानलाई एउटै ठानेर समाचार प्रस्तुत गर्दा सम्बन्धित पक्षको प्रतिक्रिया नसमेटिने र अनुसन्धानअघि नै दोषी ठहर गर्ने वातावरण बन्न सक्ने संघको भनाइ छ।

पत्रकारलाई प्रश्न सोध्ने, कागजात माग्ने र सार्वजनिक सरोकारका विषयमा अनुसन्धान गर्ने अधिकार भए पनि कार्यालयमा प्रवेश, कर्मचारीमाथि दबाब, सहमतिबिना दृश्य रेकर्डिङ तथा सार्वजनिक अपमानलाई त्यस अधिकारले नसमेट्ने इक्यानको ठहर छ । मिडियालाई विद्यार्थीको पहिचान, गोपनीयता र संवेदनशीलताको संरक्षण गर्न पनि संघले आग्रह गरेको छ।

परामर्श संस्थाबाट गल्ती भएको भए निष्पक्ष छानबिन र प्रमाणका आधारमा कारबाही हुनुपर्ने उल्लेख गर्दै इक्यानले आरोपकै आधारमा कुनै संस्था वा कर्मचारीलाई दोषी ठहर गर्न नहुने बताएको छ। संघले सदस्य संस्थालाई सेवा, शुल्क, सम्झौता र विद्यार्थीसम्बन्धी अभिलेख पारदर्शी राख्न तथा विद्यार्थी र अभिभावकलाई प्रमाणसहित उजुरी दिन अनुरोध गरेको छ।

इक्यानका महासचिव भवनाथ हुमागाईंले हस्ताक्षर गरेको विज्ञप्तिमा प्रेस काउन्सिलसँग सञ्चार सामग्रीको तथ्यगत आधार, सम्बन्धित पक्षको प्रतिक्रिया र पत्रकार आचारसंहिताको पालनाबारे अध्ययन गर्न आग्रह गरिएको छ। नेपालमा एन–५ लेभलको भाषा परीक्षा पास गरेर बिनी ग्लोबल एजुकेशन एण्ड ट्रनिङ सेन्टरबाट जापान पुगेकी एक विद्यार्थी सोही लेभलको कोर्ष ६ महिना अध्ययन गर्दासमेत पास गर्न नसकेपछि स्कुलले डिपोर्ट गरेको थियो ।

उनी डिपोर्ट भएर नेपाल आएपछि जनता मिडियाको सम्पर्कमा आएकी थिइन् । जनता मिडियाले बिनी ग्लोबलका संचालक मनोज काफ्लेसँग उनकै कार्यालयमा पुगेर विद्यार्थीको पक्ष लिंदै अन्तरवार्ता लिएका थिए । विद्यार्थीको पक्ष लिएकोमा इक्यानले जनता मिडियासँग आपत्ति जनाएको छ ।

श्रोतका अनुसार बिनी ग्लोबल इक्यानको सदस्य संस्था होइन । आफ्नो सदस्य नरहेको संस्थाको पक्षमा ६ पृष्ठ लामो विज्ञप्ति किन निस्कियो ? यसले घटनालाई थप रहस्यमय बनाएको छ ।

यस्तो छ इक्यानको विज्ञप्ति