चक डस्टरको संगतदेखि केशरमहलसम्मको यात्रा, एक उपसचिवको भिडियो कथा
काठमाडौं – सादा जीवन, उच्च नैतिक चरित्र र इमान्दारिताका पर्याय हुन् नेपाल सरकारका उप–सचिव फटिक बहादुर केसी । उनी अहिले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तरगतको शैक्षिक परामर्श तथा प्रमाणिकरण शाखाको नेतृत्वदायी भूमिकामा छन् । यस शाखाको मुख्य काम विदेशमा अध्ययन गर्न जाने विद्यार्थीहरुलाई परामर्श दिने शैक्षिक कन्सल्टेन्सीहरुको दर्ता तथा नविकरण गर्नु हो कन्सल्टेन्सीहरुको नियमन, अनुगमन गर्ने जिम्मेवारी पनि यसै शाखाको हो । यसका अलावा यस शाखाले विभिन्न खालका प्रमाणपत्रको प्रमाणिकरण गर्ने कामसमेत गर्दै आएको छ ।
बि.सं.२०७२ मा नयाँ संविधान लागू भएदेखि यो शाखाले आधामात्रै काम गर्ने गरेको छ । अझ स्पष्ट रुपमा भन्नुपर्दा यो शाखा बिरामी जस्तै छ । यो शाखा संघीय सरकार मातहत रहने कि, प्रदेश मातहतमा जाने अथवा स्थानीय सरकारलाई छोडिदिने भन्ने अन्यौलले गर्दा नै यस्तो स्थिति पैदा भएको हो । संविधानले शिक्षाको अधिकार स्थानीय तहलाई दिएको छ र शैक्षिक परामर्श क्षेत्र विदेशसँग सम्बन्धित भएकाले यस्तो अन्यौलता देखिएको हो । यस शाखालाई अहिले संघमा पनि शिक्षा मन्त्रालय मातहत राख्ने कि परराष्ट्र मन्त्रालयले हेर्ने भन्नेमा विवाद छ भने ३ नम्बर प्रदेशले आफ्नो मातहतमा रहनुपर्छ भनेर कार्यविधि बनाई काम पनि गरिसकेको अवस्था छ ।
यहि अन्यौलताका कारणले नै यस शाखाले काम गर्न नसकेको हो । हाल यस शाखाले अहिल प्रमाणपत्र प्रमाणिकरणको काम मात्र गर्दै आएको छ । कर्मचारीको अभाव, नीति नियममा देखा परेको अन्यौलताले गर्दा यसले गर्ने नियमन, अनुगमन तथा शैक्षिक परामर्शदाता कम्पनीहरुको नविकरणका कामहरु ीवग दुई बर्षदेखि ठप्प छन् । यस शाखामा हालैमात्र सरुवा भएर आएका छन् नेपाल सरकारका उपसचिव फटिक बहादुर केसी । केसीका बारेमा हामी एउटा ब्यक्तिगत प्रोफाइल तयार पारेका छौं ।
को हुन् केसी ?
नेपाल सरकारको उपसचिव पदमा कार्यरत फटिक बहादुर केसीको जन्म ओखलढुङ्गा जिल्लामा भएको हो । उनी बि.सं. २०५२ सालमा सरकारी सेवामा प्रवेश गरेका हुन् । शिक्षण पेशामा विशेष रुचि भएका केसी सरकारी सेवामा प्रवेश गर्न भन्दा पहिला विभिन्न स्कुलहरुमा अध्यापनको काम गर्थे ।
पढाईमा तीक्ष्ण विद्यार्थीका रुपमा परिचित केसीले एसएससी परीक्षा दिएर घर फर्किन नपाउँदै आफैंले पढेको विद्यालयमा जागिरको अवसर पाए । त्यो उनका लागि निकै नै ठूलो सफलता थियो । एसएलसी परीक्षा दिएपछि नतिजा आउन एक बर्ष पर्खिन पर्ने अवस्था भएकै कारण उनी त्यो समयको सदुपयोग गर्न लागि जागिर खान सहमत भए ।
भविष्यको खासै सपना नबुनेका केसी आफ्नो कर्ममा भने एकढिक्का भएर लाग्थे । निकै मिहिनेती स्वभावका उनले आफ्नो बाल्यकाल यसरी सम्झिए, ‘मेरो सपना भन्दा पनि म सँधै आफ्नो कर्म गर्दै अगाडि बढिरहन्छु, कुनै पनि योजना बिना । ओखलढुंंगामा जन्मिएँ, हुर्किएँ । म जन्मिँदा घरमा ठूलै हर्षबढाइ भएको थियो रे । हाम्रो परिवारलाई गाउँघरमा धेरै सम्मानित तरिकाबाट समाजले हेथ्र्यो । म त्यहि गाउँघरमा हुर्किएँ । मेरो बाल्यकाल अत्यन्तै रमाइलो थियो । आर्थिक दृष्टिकोणले म सामान्य दाल, भात र तरकारी खान पुग्ने परिवारमा हुर्केको हुँ । हाम्रो परिवारको पेशा खेती किसानी नै हो ।’
उनलाई गाउँका हुनेखाने परिवारका सदस्य फरक पर्दैन । संयुक्त परिवारमा जन्मेको कारणले नै होला उनले गाउँमा छँदा घरखेतको काम गर्न परेन । उनी भन्छन् ‘जिन्दगीमा धेरै दुःख, जस्तै गाउँमा भएका दुःखहरु, शहरमा हुने विभिन्न खाले दुःखहरू मेरो जीवनमा कहिल्यै आएनन् । मेरो जीवनमा दुःख भन्ने शून्य प्राय नै छ । घरमा पनि पढ्ने काम मात्र हुन्थ्यो । मैले त्यहि गरें । शहरमा मैले ठूलो पनि संघर्ष गर्न परेन ।’
सेवा प्रवेश
एसएलसी दिएको एक बर्षपछि परीक्षाफल प्रकाशित भयो । गाउँमा हुँदाखाँदाको जागिर छोडेर उनी उच्च शिक्षा अध्ययनका लागि काठमाडौं हानिए । एसएलसीको परीक्षाफल बोकेर । काठमाडौं आएर उनी विश्वविद्यालयमा भर्ना भए । निकै नै मिहिनेती स्वभावका उनी यता उता नगरिकन दुई बर्षको पढाई सकाए । त्यसपछि उनले जागिरको आवश्यकता महसुस गरे ।
काठमाडौंमा सम्पन्न परिवारका सदस्यहरुलाई पनि आर्थिक अभावले सताउने गर्दछ, जो बाहिरबाट अध्ययनका लागि आउने गर्दछन् । त्यसका लागि राजधानीभित्रै पढ्दै जागिरको जोहो गर्नैपने बाध्यता हुन्छ । शिक्षण पेशालाई अत्यधिक माया गर्ने केसीलाई अन्य जागिर खोज्नभन्दा पढाउन नै उपयुक्त ठानेर स्कुल धाउन थाले ।
उनका अधिकांश साथीहरु कोही बैंकमा जागिर खान्छन् । कोही संस्थाहरूमा, केही सरकारी सेवामै पनि छन् । त्यतिबेला नै उनले आफ्नो गन्तव्य तर गरे शिक्षणका लागि । उनीसँगका साथीहरु बिरलै मात्र शिक्षक हुन्थे । उनलाई यो पेशा साह्रै मनपर्ने पेशा थियो । उनी भन्छन् ‘यो पेशा असाध्यै कठिन र चुनौतीपूर्ण पेशा हो । मलाई चुनौतीसँग सामाना गर्न असाध्यै मन पथ्र्यो । त्यहि चुनौतिको कामलाई सरल ढङगबाट समाधान गर्ने मेरो गुण थियो ।’
उनलाई शिक्षण पेशा अहिले पनि महान लाग्छ । उनी भन्छन्, ‘मैले शिक्षण पेशामा प्रवेश गर्दै गर्दा, अधिक कठिन चुनौतीपूर्ण पेशाको रूपमा स्वीकार गरेर काम गरें । मलाई शिक्षण पेशा सामान्य मानिसले हात हाल्ने पेशा होइन भन्ने नै लाग्थ्यो । किनकि यो पेशा मानसिक र शारीरिक दुवै रुपले खट्नु पर्ने पेशा हो ।’
उनी शिक्षण सेवामा हुँदा तीन किसिमका शैक्षिक संस्थामा काम गरेका छन् । सबैभन्दा पहिला उनले सरकारी विद्यालयमा काम गरे । त्यसपछि सार्वजनिक र निजी । उनी शिक्षण पेशालाई यस कारण उच्च सम्मान गर्छन् कि शिक्षकमा धेरै उच्च क्षमता हुनुपर्छ । त्यही क्षमताका कारण मात्र शिक्षक बन्न सकिन्छ । अध्यापन गर्दै गर्दा २०५१ सालतिरको कुरा हो, देशमा राजनीतिक आरोह, अवरोहले गर्दा उनी सरकारी सेवातिर आकर्षित भए ।
यतिबेला देशमा द्वन्द्वकालको पनि लगभग शुरू भइसकेको थियो । त्यहि समयमा उनी विद्यालय निरीक्षकको रूपमा तेश्रो दर्जाको अधिकारी प्रमुख भएर पदभार ग्रहण गरेर सरकारी सेवामा प्रवेश गरे । उनी आफ्नो सेवा प्रवेशको समयलाई यसरी सम्झिन्छन् ‘हाम्रो सेवा प्रवेशको कालमा मुलुकमा धेरै परिवर्तन भए । कानूनको दृष्टिकोणले, संविधानको दृष्टिकोणले । मुलुकको वातावरण पनि त्यस्तै थियो । हामीले शैक्षिक प्रशासकको हिसाबले निर्वाह गर्नु पर्ने काममा धेरै संघर्ष गर्नु प¥यो । त्यसबेला आफूले गर्नु परेको काममा पूर्ण रूपमा सन्तुष्टि हुने अबस्था थिएन ।’
सेवाग्राहीप्रेमी प्रशासक
सरकारी कर्मचारीलाई अहिले पनि जनतालाई दुःख दिने, अल्झाउने र ढिलासुस्ती गर्ने भनेर आरोप लाग्ने गर्दछ । तर उपसचिव केसीले कहिल्यै जनतालाई दुःख दिएनन् । उनले जनताका काम कारबाहीमा कहिल्यै झुलाउने काम गरेनन् सकेसम्म सहजीकरण गरेर सेवाग्राहीप्रेमी प्रशासकको रुपमा आफ्नो परिचय स्थापित गरे ।
आफ्नो सेवाकाल सम्झिँदै उनले भने, ‘म जीवनका हरेक रफ्तारहरूमा आफूलाई कुशल बनाउँदै अगाडि बढिरहँे । कामको शिलशिलामा म सरकारी कार्यालयमा नियुक्ति भएर जिल्ला शिक्षा कार्यालय काभ्रेमा जिल्ला शिक्षा तथा समन्वय इकाई कार्यालयमा इकाई प्रमुख भएर पदभार ग्रहण गरेँ । म जनताको सेवा गर्न सँधै तल्लिन हुने मान्छे । सँधै सेवाग्राहीको दुःख र सुखलाई नजिकबाट नियालेर काम गर्थेँ ।’
उनले जिन्दगीका अधिकांश समय शिक्षा क्षेत्रमा नै बिताएका छन् । यसैक्रममा उनले साविकको शिक्षा विभागमा पनि काम गरेका थिए । जीवनमा सबैभन्दा ठुलो कुरा बेन्चमा जनसुकै कार्यालयमा रहँदा पनि सेवाग्राहीलाई सन्तुष्टि पार्न तल्लीन हुने केसी त्यो नै सम्बन्धित सेवा प्रदान गर्न कर्मचारीको प्रर्दशन नाप्ने प्रतिबद्धता भएको बताउँछन् । उनी भन्छन्, ‘मैले यत्ति गरें, उत्ति गरें भन्दा पनि हामीले सेवा गर्ने सेवाग्राही कति खुसी छन् भन्ने कुरा महत्वपूर्ण हो । म आफ्नो कामको मूल्याङ्कन आफैले कहिले गर्दिन ।’
विगतलाई फर्केर हेर्दा
‘अहिले मलाई कहिलेकाँही ओखलढुंगाको याद आउने गर्छ ।’ उनले आफ्नो गाउँलाई सम्झिँदै भने, ‘आफ्नो जीवनको यात्रालाई नियालेर हेर्छु र खुसी हुने गर्छु । पहाडमा कोही छैनन् भने पनि हुन्छ, एउटा भाइ छन् । उनले नै सबैकुरा हेरिरहेका छन् । म काठमाडांैमा ४ जनाको सुखी परिवारमा छु । हाम्रो परिवारमा मेरो एक छोरा, एक छोरी र मेरी जीवन संगिनी र म छौं । मलाई गाउँको याद भने आइरहन्छ ।’
चक र डस्टर चलाउँदादेखि अहिलेसम्म शैक्षिक प्रशासनको सेवामा बिताएको २५ बर्ष भन्दा बढी भयो । उनको मनमा अझै जोश र जाँगर उत्तिकै छ । केही गरौं भन्ने भावना छ । शिक्षा क्षेत्रमै बिताएको लामो समय भयो उनी अझै केही गर्न चाहन्छन् ।
कामका कुरा
साविकको शिक्षा विभागमा कार्यरत केसी २०७६ साल जेष्ठ १६ गतेदेखि शिक्षा मन्त्रालय अन्तर्गतको शैक्षिक परामर्श तथा प्रमाणिकरण शाखामा सरुवा भए । उक्त कार्यालयमा उनले जेठ २० गते शुक्रबारको दिन आफ्नो पद भार ग्रहण गरे । कार्यालय लथालिङ्ग र भताभुंग भएको देखेर उनलाई उदेक लागे पनि उनले गर्नसक्ने सम्भावना केही पनि थिएन ।
त्यो कुर्सीलाई सम्झिँदै उनले भने, ‘मेरो यो कुर्सीको कार्यक्षेत्र भनेको राज्यको नीति, ऐन नियम र निर्देशिकाहरू बनाउनु र तिनको ठिक–ठिक ढङगले कार्यान्वयनको दिशा समातेर हामीले निर्णयहरूलाई अगाडि बढाउने हो । यो टेबल प्रत्यक्ष नीति बनाउने होइन । यसमा जोसुकै आएपछि गर्ने भनेको त्यहि हो । यो टेबल भनेको राष्ट्रिय नीतिहरू, उद्देश्यहरू र कार्यक्रमहरूको कार्यन्यन गर्ने थलो हो, बनाउने होइन । म यहाँ आएर पनि उल्लेख्य प्रगति गर्न पाइएन ।’
तर पनि उनी त्यसै भने बसेका भने छैनन् । ‘शिक्षा मन्त्रालय र यस अन्तर्गतका निकायहरुले स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले विद्यालय शिक्षाका सम्बन्धमा गरेको व्यवस्था कार्यान्वयन गर्नका लागि आवश्यक सहयोग, समन्वय र सहजीकरण गर्नु आवश्यक मात्र नभएर अनिवार्य पनि छ । सो क्रममा उपलब्ध भएसम्मका जनशक्ति खटाउने र प्राविधिक सहयोग उपलब्ध गराउने काम भइआएको छ ।’ उनले भने, ‘पछिल्ला वर्षहरूमा पढ्नका लागि विदेश जाने क्रम उच्च वर्गमा मात्रै नभई मध्यम वर्गीय परिवारमा पनि बढ्दै गएकोले नेपालबाट रकम बाहिरिने क्रम बढ्दो क्रममा छ । नेपालका विश्वविद्यालय र कलेजहरूले गुणस्तरीय शिक्षा सुनिश्चित नगरेसम्म विद्यार्थी विदेश जाने प्रवृत्ति रोक्न सकिदैन ।’
विश्वविद्यालयमा शैक्षिक एवं प्राज्ञिक वातावरणको लागि राजनीतिक प्रतिवद्धताको आवश्यकता पर्ने भन्दै उपसचिव केसीले प्रत्येक संघीय प्रदेशमा विषयगत विश्वविद्यालय खोल्नका लागि सामुदायिक र निजी क्षेत्रलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिए ।
नेपाली शिक्षा प्रणालीले अभिभावक र विद्यार्थी दुवैको विश्वास जित्ने अवस्था नआएसम्म उच्च शिक्षा हासिल गर्न देशबाट बाहिर जान चाहने युवाहरूको संख्यामा कमी नआउने बताए । उनले भने, ‘अहिलेका हाम्रो युवाहरूमा शैक्षिक संस्थाहरूको पनि धेरै गुनासो रहे । सरकारी तर्फबाट पनि धेरै गुनासा छन् । मलाई लाग्छ विद्यार्थीहरु आफै सचेत रहनुपर्छ र आफ्नै देशमा केहि गर्ने ऊर्जा लिएर जीवित रहनु पर्छ ।’
हेर्नुहोस भिडियो

