चिन्ता र तनावमा कुलमान घिसिङ, यस्तो छ कारण

बुधबार, २९ साउन २०७६

काठमाडौं – नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई विद्युत खपतको चिन्ता बढ्न थालेको छ । अहिलेसम्म लोडसेडिङ हटाउने चिन्तामा रहेका प्राधिकरणका निर्देशक घिसिङलाई अब भने बिजुली खपत बढाउने चिन्ता बढ्न थालेको हो ।

अहिले बर्खाको समयमा नेपालमा १२ सयदेखि १३ सय मेगावाट बिजुलीको माग छ भने कुल उत्पादन ११ सय मेघावाट विजुल्ली उत्पादन भइरहेको छ । आउँदो असारसम्म प्राधिकरणले कुनै हालतमा पनि एक हजार मेगावाट बिजुली राष्ट्रिय प्रशारण लाइनमा जोडिने दाबी गरेको छ ।

यो बर्ष नुवाकोटको किस्पाङमा निर्मार्णाधीन माथिल्लो त्रिशुली थ्री ए को दोस्रो युनिटले साउनको १५ गतेदेखि ३० मेगावाट विद्युत उत्पादन थालेको छ भने पाँचथरबाट २२ दशमलव ३४ मेगावाट बिजुली केन्द्रीय प्रसारण प्रणालीमा थपिएको छ । १४ मेगावाटको कुलेखानी तेस्रोले पनि छिटै उत्पादन थाल्दैछ ।

अरु आयोजनाहरु धमाधम बनिरहेका छन्, ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत आयोजना पनि यसै आर्थिक वर्षमा सम्पन्न हुँदैछ । यसरी हेर्दा आउँदो बर्खामा नेपालमा झण्डै २१ सय मेगावाट बिजुली उत्पादन हुने देखिन्छ ।

तर अहिलेकै अवस्थामा त्यतिधेरै बिजुली प्रयोग हुने सम्भावना देखिन्न । त्यसैले बिजुली खपत बढाउन अहिले प्रशारण लाइन र सवस्टेशनको सुधार र विस्तारलाई प्राधिकरणले जोड दिएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार अहिले पनि प्रशारण लाइन र सवस्टेशनको मर्मत र विस्तार भइरहेको छ । अहिले भइरहेका संरचनाले उद्योगहरुलाई मागेजति बिजुली दिन नसकिने र अब बिजुली उत्पादनसँगै संरचना सुधारमा ठूलो लगानी र योजना आवश्यक रहेको घिसिङको भनाइ छ ।

अत्याधिक बिजुली खपत गर्न आग्रह

नेपाल विद्युत प्राधिकरणले नेपाली जनतालाई अत्याधिक विद्युत खपत गर्न आग्रह गरेको छ । प्राधिकरणले इन्धनबाट संचालन हुने उपकरणको प्रयोगमा कम गर्न आग्रह गर्दै विद्युतिय सामाग्री प्रयोग गर्न सुझाव दिएको छ ।

मन्त्रालय र प्राधिकरणले राइस कुकर, वासिङ मेसिन, आइरन, भ्याकुम क्लिनरलगायतका सामग्री प्रयोग गर्न जनतालाई आग्रह गरेको छ ।