सांसदको घरमा बम बिस्फोट गर्ने विप्लवका ३ नेता पक्राउ

शुक्रबार, ६ भाद्र २०७६

बुटवल – नेत्रविक्रम चन्द विप्लव नेकपाका रुपन्देही जिल्ला जनसरकार उपप्रमुखसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिकाका ५० बर्षीय बिक्रम यादव, रुपन्देहीको गैडहवा गाउँपालिकाका ४३ बर्षीय रुदल यादव र सियारी गाउँपालिकाका ६३ बर्षीय विष्णुप्रसाद तिवारी (मुकेश) रहेका छन् ।

पक्राउ परेका बिक्रम यादव विप्लव नेकपाका जिल्ला जनसरकार उपप्रमुख हुन् भने रुदल यादव प्रादेशिक जनसरकार सदस्य हुन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश ५ का प्रदेशसभाका प्रमुख सचेतक भूमिश्वर ढकालको घर र गाडीमा बम विष्फोट गराएको अभियोगमा उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

गत साउन ३१ गते राति रुपन्देही सैनामैना नगरपालिकाको शान्तिटोल स्थित ढकालको निवासमा विष्फोटन र आगजनी भएको थियो । जिल्ला प्रहरी प्रवक्ता डीएसपी धर्मराज भण्डारीको कमाण्डमा खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरुमाथि रुपन्देही गैडहवा गाउँपालिकाको सानो धुपहीस्थित एनसेल टावरमा साउन १५ गते आगजनी र बम विष्फोटमा समेत संलग्न रहेको अभियोगमा उनीहरुविरुद्ध मुद्धा दर्ता भइ अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।