कँग्रेस नेता गान्धी एयरपोर्टबाटै लखेटिए..
नयाँ दिल्ली– भारतीय काँग्रेसका नेता राहुल गान्धी एयरपोर्टबाटै लखेटिएका छन् । जम्मू कश्मीरलाई दिइएको विशेष राज्यको मान्यता खारेज गरी राज्यलाई पुनर्गठन गर्ने भारत सरकारले निर्णय गरेपछि जम्मू कश्मीरको अवस्था बुझ्न त्यसतर्फ पुगेका नेता गान्धीलाई विमानस्थलबाटै लखेटिएको हो ।
जम्मू कश्मीरको राजधानी श्रीनगरको विमानस्थलमा पुगेका उनीसहित विपक्षी पार्टीका नेताहरुको टोलीलाई विमानस्थलबाटै नयाँ दिल्ली फर्काइएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उनलाई श्रीनगर विमानस्थलमा १ घण्टा रोकेर त्यहाँबाट फिर्ता पठाइएको हो ।
श्रीनगर पुगेको उनीसहितको टोलीमा विपक्षी पार्टीहरु भारतीय काँग्रेस, भारतीय कम्युनिष्ट पार्टी, भारतीय कम्युनिष्ट पार्टी– माक्र्सवादी, राष्ट्रिय जनता दल, राष्ट्रिवादी काँग्रेस पार्टी, तृणमूल काँग्रेस, डिएमके लगायतका पार्टीका नेताहरुको सहभागिता रहेको थियो ।
यसअघि राज्य प्रशासनले नेताहरुलाई राज्यमा प्रवेश नगर्न आग्रह गरेको थियो । नेताहरुको भ्रमणले सामान्यतर्फ अघि बढिरहेको राज्यको अवस्थामा नकारात्मक असर पार्ने भन्दै उनीहरुलाई राज्यमा प्रवेश नगर्न भनिएको थियो ।
सरकारले जम्मू कश्मीर राज्यको पुनर्गठन गर्ने निर्णय गरेयता राज्यमा कुनै पनि पार्टीका नेताहरुलाई प्रवेश दिइएको छैन । त्यहाँका राजनीतिक तथा धार्मिक नेताहरुलाई नजरबन्दमा राखिएको छ भने सुरक्षा सतर्कता समेत उच्च पारिएको छ ।
त्यहाँ सूचना तथा सञ्चारका माध्यममा लगाइएको प्रतिबन्ध भने केही खुकुलो पारिएको छ । त्यहाँको जनजीवन सामान्य बन्दै गएको बताइएको छ ।