विप्लवको गोप्य कार्यालयमा प्रहरीको छापा
काठमाडौं – नेत्रविक्रम चन्द नेतृत्वको नेकपाको झापा जिल्ला कार्यालयमा प्रहरीले छापा मारेको छ । बिर्तामोड नगरपालिका–४, नेपाल विद्युत् प्राधिकरणको कार्यालय पछाडि राखिएको नेकपाको गोप्य कार्यालयमा छापा मारेर महत्वपूर्ण दस्तावेजसँगै हतियार पनि बरामद गरिएको प्रहरीले जनाको छ ।
सोमबार दिनभर जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय, अनारमनीले चलाएको अपरेशनका क्रममा तीन जना नेता पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापा जिल्ला जनसरकार प्रमुख टीका पोखरेल, सेक्रेटरी प्रविण मिश्र र मकवानपुरका कार्यकर्ता अनुल सारु मगर छन् ।
पछिल्लो एक महिनामा झापामा भएका विष्फोटका योजनाकार पोखरेल र मिश्र भएको प्रहरी दाबी छ । यो गिरफ्तारीसँगै नेकपाको झापा जिल्ला समितिका अध्यक्षबाहेक अधिकांश समातिएका छन् । झापा अध्यक्ष सुमन सिंहको भने जिल्ला खासै गतिविधि देखिएको छैन । ‘जति पनि ध्वंसात्मक गतिविधि भए ती सबै जनसरकार प्रमुख र सेक्रेटरीले नै गरेको देखिन्छ’, स्रोत भन्छ ।
‘हामीले चाँडै नियन्त्रणमा लिनसक्दा थप क्षति हुनबाट रोकिएको छ’, प्रहरीले स्रोतले भन्यो, ‘वैठकको निर्णय र बरामद अन्य दस्तावेजको विषयमा विस्तृत अनुसन्धान गरिरहेका छौं ।’
प्रहरीले कार्यालयबाट दुई वटा कटुवा पेस्तोल र ४ राउण्ड गोली पनि बरामद गरेको छ । प्रहरीले उनीहरुको साथबाट पार्टी महासचिवको हस्ताक्षर भएको दर्जनौं रसिद पनि बरामद गरेको छ । उनीहरुबाट बरामद दस्तावेजले बिर्तामोडका थुप्रै व्यवसायीलाई चन्द माग गरिएको खुलेको छ । प्रहरीले पक्राउ परेकालाई सार्वजनिक र विस्तृत विवरण बताउन मंगलबार दिउँसो पत्रकार सम्मेलन गर्ने तयारी गरेको छ ।