पोखरमा नेपाल–भारत सीमा सुरक्षा बैठक, यी एजेण्डा हुदैछ छलफल
काठमाडौं – पोखरामा नेपाल भारत सीमा सुरक्षा बैंक बस्दैछ । नेपाल र भारतका अधिकारी सम्मिलित सीमा सुरक्षा बैठक आजबाट पोखरामा बस्ने भएको हो । नेपाल र भारतबीच सीमा विवाद चर्किरहेका बेला बुधबारबाट शुक्रबारसम्म सीमा सुरक्षा बैठक बस्न लागेको हो ।
पोखराको दोबिल्लास्थित माउन्ट ग्लोरी रिसोर्टमा हुने बैठकमा नेपालको तर्फबाट सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनाल र एसएसबीका महानिर्देशक कुमार राजेश चन्द्र नेतृत्वको टोली सहभागी हुनेछ । बैठकमा सहभागी हुन भारतबाट पाँच जनाको टोली पोखरा आएको छ ।
सुरक्षा स्रोतका अनुसार अन्तरदेशीय सीमा अपराध, दशगजामा संयुक्त गस्ती, सूचना आदान प्रदानका एजेण्डामा बैठक केन्द्रित हुनेछ । भारतले हालै जारी गरेको विवादित नक्सा र भारतद्वारा अतिक्रमित नेपाली भूमिबारे बैठकमा छलफल नहुने स्रोतले बतायो ।