प्रेरक प्रसंगः बुद्धको अनुहार पनि कालो
काठमाडौं–एक बौद्ध साध्वी थिइन् । उनीसँग एउटा सानो बुद्धको सुनको प्रतिमा थियो । त्यस प्रतिमालाई उनी निकै प्रेम गर्थिन् । जब उनले धूप बाल्थिन् त्यसबाट निस्केको धुवाँलाई यताउता फैलन दिँदैनथिन् धकेलेर भए पनि आफ्नो बुद्धको प्रतिमा भएको ठाउँसम्म पुर्याउथिन् । जब फूल चढाउथिन् त्यसको सुगन्ध यताउता नजाओस् भनेर उनलाई डर लागिरहन्थ्यो ।
एउटा समस्या उत्पन्न भयो एक रात । उनी एउटा मन्दिरमा बसिन् । चीनमा एउटा धेरै ठूलो प्राचीन मन्दिर छ जहाँ हजारौं बुद्धका प्रतिमाहरु छन् । उनी त्यही बसिन् । उनी डराइन् । सबै प्रतिमा बुद्धका छन् तर पनि डर ?
उनले सोचिन् –‘यहाँ यदि मैले धूप बालेँ र फूल चढाए भने धुवाँ त मेरो बुद्ध भएको ठाउँमा मात्रै रोकिने छैन । अन्य बुद्ध भएको ठाउँमा पनि फैलनेछ ।’
उनले बाँसको एउटा ढुङ्ग्रो बनाइन् । धूप बालेर त्यसको एकछेऊ आफ्नो बुद्धको नाकमा पुर्याइन् । धुवाँले बुद्धको मुख कालो भयो ।
उनी अत्यन्तै दुःखी भइन् । बिहानै उनी मन्दिरको प्रधान भिक्षूकहाँ पुगिन् र आफूलाई समस्या परेको कुरा सुनाइन् । बुद्धको नाक कसरी सफा गर्ने भन्ने उनलाई चिन्ता थियो ।
प्रधान भिक्षू हाँस्न थाले उनले भने–‘ पागल ! तिम्रो सत्सङ्गमा तिम्रो बुद्धको अनुहारसमेत कालो भयो ।’ आखिर ती सबै प्रतिमा बुद्धकै थिए । कति धेरै कन्जुसी ! यदि अलिकति धुवाँ अन्य प्रतिमा भएको ठाउँमा गएको भए के नै बिग्रन्थ्यो र !
सबै प्रतिमाहरु बुद्धकै हुन् । हरेका आँखाबाट उनैले हेरिरहेका छन् । हरेका ढुंगामा उनी सुतेका छन् । तपाइँ यसको चिन्तै नगर्नुहोस् । तपायाको जीवनमा आनन्द भरियो भने प्रेम बाँड्नुहोस् , गीत बाँड्नुहोस् सङ्गीत बाँड्नुहोस् । यसैको त हामीलाई प्रतिक्षा थियो । त्यो क्षण कहिले आउनेछ जब हामी बाँड्न सकौं भनेर प्रतिक्षा गरिरहेका थियौं ।