प्रहरी हिरासतमा रहेका कमलको यसरी भयो विवाह

बुधबार, २ पौस २०७६

विराटनगर – प्रहरी हिरासतमा रहेको धरानका कमल धमला (विक) प्रहरी हिरासतमै रहेका वेला विवाह भएको छ । लागुऔषध ओसार पसार मुद्धामा पक्राउ परेका उनलाई प्रहरीकै संरक्षकत्तोमा विवाह गरिएको हो ।

बेहुला धरान उपमहानगरपालिका –१५ का २१ वर्षीय कमल धमला (विक) बिहेको अघिल्लो दिन पक्राउ परेका थिए । प्रहरीका अनुसार लागूऔषध प्रयोगकर्ता उनी शनिबार सीमावर्ती बजार जोगवनी पुगेका थिए । त्यहीँबाट लागूऔषध सेवन गरेर ठुलो मात्रामा घर ल्याउँदै गर्दा उनलाई प्रहरीले पक्राउ गरेको हो ।

उनको साथबाट ७ एम्पुल लुपिजेसिक,७–७ पिस एभिल र डाइजोपाम बरामद भएको प्रहरीले जनाएको छ । कमल अबेरसम्म घर नआएपछि खोजी सुरु भयो । त्यसक्रममा घर परिवारका सदस्यले इलाका प्रहरी कार्यालय रानीको नियन्त्रणमा रहेको सूचना पाए । भोलि विहान बेहुली लिन धनकुटाको महालक्ष्मी नगरपालिका जानु पर्ने बेहुला आफैं प्रहरी हिरासतमा परेपछि पर्‍यो फसाद ।

बेहुला लागूऔषधमा पक्राउ परेको खबर युवतीको घरसम्म पुग्यो । तर प्रेम सम्बन्धमा रहेकी युवतीले विवाह इन्कार गरिनन् । आइतबार बिहान धनकुटा जाने जन्ती बेहुला लिन विराटनगर आयो । जिल्ला प्रहरी कार्यालय मोरङले आमाको जमानीमा दुईजना प्रहरी साथमा लगाएर बेहुलालाई लैजान अनुमति दियो ।

बिहे सम्पन्न भयो । कमलले सोमबार विहान बेहुलीलाई घरमा प्रवेश गराए । घरमा विवाह उत्सव चलिरहेको थियो, तर नवदुलाह त्यहाँ बसिरहन पाएनन् । आफन्तले टीका लगाइदिएपछि बेहुलासँगै जन्ती गएका प्रहरीले कमललाई जिल्ला प्रहरी कार्यालय मोरङमा ल्याएको छ ।

उनलाई मंगलबार लागूऔषध मुद्दामा म्याद थप गरी अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । धरानको रत्नरोडमा सुन पसल गर्दै आएका कमल परिवारको जेठा छोरा हुन् । एक वर्ष अघि बुबाको मृत्यु भएपछि उनले लागूऔषध सेवन गर्न थालेको बताइएको छ । तर उनले भने आफूलाई फसाउन अरु कसैले लागूऔषध राखिदिएको बयान प्रहरीसामू दिएका छन् ।