सीके राउत नेतृत्वको जनमत पार्टीले २५ ठाउँमा सभा गर्दै

बुधबार, २ पौस २०७६

काठमाडौं– सीके राउत नेतृत्वको जनमत पार्टीले तराई–मधेसका सबै जिल्लामा आमसभा गर्ने भएको छ । पर्सामा भएको केन्द्रीय समिति बैठकले पुस पहिलो सातादेखि फागुनभित्र आमसभा गर्ने कार्यतालिका तय गरेको छ ।

पूर्वको झापाबाट पश्चिमको कञ्चनपुरसम्म आमसभा गर्ने गरी ७ पुसदेखि १७ फागुनसम्मको कार्यतालिका सार्वजनिक पार्टी अध्यक्ष राउतद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । तराईका स्थानीय तहको उपनिर्वाचनमा भाग लिएको उक्त पार्टीले संगगठन विस्तारलाई तीव्रता दिँदै आएको छ । आगामी निर्वाचनमा देशभर उम्मेदवारी दिने उक्त पार्टीले जनाएको छ । जनमतले ७ मंसिरमा काठमाडौंमा आमसभा गरेको थियो ।

राउत गत फागुनमा शान्तिपूर्ण राजनीतिमा आएका थिए । उनले वैशाखमा विगतका संगठन विघटन गरी जनमत पार्टी निर्वाचन आयोगमा दर्ता गराएका थिए । ‘हामी पूर्णरूपमा संगठन विस्तारमै छौ’, जनमतका नेता चन्दन सिंहले अन्नपूर्णसँग भने । राम्रो मत नल्याए पनि उपनिर्वाचन ‘सही प्रयोग भएको’ निष्कर्ष बैठकले निकालेको छ ।

मधेसकेन्द्रित अन्य दलका नेता तथा कार्यकर्तालाई पार्टीमा भित्र्याउने रणनीति जनमतले लिएको छ । बैठकले मधेस नेतृत्व पुञ्ज गठन गर्ने निर्णयसमेत गरेको छ । पुञ्जको संयोजकमा केन्द्रीय सदस्य ललित मल्लिक ‘सानु’ छन् । समाजवादी र राजपामा असन्तुष्ट बनेका छुट्टै मञ्च उपलब्ध गराउन यो गठन गरिएको एक नेताले बताए ।

स्वतन्त्र मधेस अभियान चलाउँदा राउतलाई गैरआवासीय मधेसी संघले सघाएको आरोप चौतर्फी थियो । राउत आफैं संस्थापक रहेको यो संस्थाको सञ्जाल ४७ देशमा छ । संघका अध्यक्ष वसन्त कुशवाहालाई राउतले पार्टीको विदेश विभाग प्रमुख बनाएका छन् । १९ सदस्यीय विभागमा अमेरिका, कुवेत, मलेसिया, अस्ट्रेलिया, भारतलगायत देशमा सक्रिय संघका प्रतिनिधि सदस्य छन् । मूलधारको राजनीतिमा आउने घोषणा गरेलगत्तै राउतले यी संस्था रहेको देश भ्रमण गरी कार्यक्रम गरेका थिए । त्यसपछि उनले पार्टी दर्ता गरेका थिए ।