घुस रकमसहित प्रहरी इन्सपेक्टर पक्राउ

बिहिबार, १० पौस २०७६

बुटवल – घुस रकमसहित एक प्रहरी इन्सपेक्टर र प्रहरी सहायक हवल्दार पक्राउ परेका छन् । रूपन्देहीको गैडहवा गाउँपालिका विष्णुपुरास्थित शसस्त्र प्रहरी वेश क्याम्पका प्रहरी निरीक्षण (इन्सपेक्टर) तेजबहादुर जोरा र शसस्त्र प्रहरी सहायक हवल्दार वीरेन्द्रप्रसाद चौधरी ६ हजार रुपैयाँ घुस रकमसहित पक्राउ परेका हुन ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलीले उनीहरूलाई गैडहवा–३ बाट ६ हजार रुपैयाँ घुस सहित रंगे हात पक्राउ गरेको हो । घरयासी सामान ल्याउन सहजीकरण गरिदिने भन्दै घुस लिएको अवस्थामा दुबै जनालाई नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलका सूचना अधिकारी सुरेश भुसालले जानकारी दिए ।

उनीहरूलाई नियन्त्रणमा लिएर बुटवलमा राखिएको छ । भ्रष्टचार निवारण ऐन अनुसार उनीहरुलाई कारबाही गरिने भुसालले जानकारी दिए । उनीहरू अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंकाल काठमाडौंमा शुक्रबार पठाइने छ ।