नेपाल भ्रमणमा बंगलादेशबाट २० हजार पर्यटक आउने
काठमाडौं–पर्यटन वर्ष २०२० मा पशुपति क्षेत्रमा बंगलादेशबाट २० हजार दर्शनार्थी आउने गरी सम्झौता भएको छ । बंगलादेशको हिन्दु वेलफेयर ट्रस्टसँग सम्झौता गरिसकेको पशुपति विकास कोषले जनाएको छ ।
बंगलादेश सरकारले सहयोग गर्नेगरी कार्य अगाडि बढिसकेको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव प्रदीप ढकालले बताए । उनका अनुसार बंगलादेशमा पनि धेरैको संख्यामा हिन्दु धर्मावलम्बी छन । बंगलादेशबाट सबैभन्दा थोरै धार्मिक पर्यटक आउँनाले भएकोले धार्मिक पर्यटक बढ्ने विश्वास रहेको छ ।
त्यसैगरी, भारतको राजस्थान सरकारले भ्रमण वर्षमा तीन हजार धार्मिक पर्यटकलाई पशुपतिको दर्शन गराउने व्यवस्था गरेको उनले जानकारी दिए । उनले भने,आगामी महिना राजस्थानबाट आउँदै छन् । उनीहरुलाई पशुपति विकास कोषले स्वागत गर्छ ।
इन्डोनेशिया, मलेसिया, बंगलादेशमा भएका हिन्दुहरुलाई पशुपतिनाथको दर्शनार्थको लागि नेपाल भ्रमणमा सहभागी हुन विदेशमा रहेका राजदुतावास मार्फत प्रचार प्रसार कार्यक्रम सञ्चालन गरिने उनले बताए । उनले भने, नेपालमा बसेर विदेशमा व्यापार गरिरहेका निजि क्षेत्रलाई नेपालको प्रचार प्रसार गर्न आग्रह गरिन्छ ।