शैक्षिक मेलाका लागि आइडिपिले अनुमति लिएको छैन : शिक्षा मन्त्रालय
काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तरगतको शैक्षिक परामर्श तथा प्रमाणिकरण शाखाले आइडिपि एजुकेशन स्टुडेन्ट सर्भिसेस् प्रा.लिले शैक्षिक मेलाको अनुमति नलिएको जनाएको छ । शैक्षिक परामर्श तथा प्रमाणिकरण शाखाका प्रमुख फकिट बहादुर केसीले आइडिपिले यो पटक मात्र होइन् आजसम्म कुनैपनि मेलाको अनुमति नलिएको बताए ।
मोटिभेट न्यूज डटकमसँग कुरा गर्दै प्रमख केसीले आइडिपिको फायल आजसम्म आफ्नो टेबुलमा नआएको बताए । उनले भने, ‘उहाँहरुले कसरी काम गरिरहनुभएको छ हामी पनि छक्क परेका छौं । बाहिरबाट हेर्दा कानुनलाई नै हातमा लिएको जस्तो देखिन्छ ।’
नेपालको कानुनको धज्जी उडाउँदै आडिपिले जवरजस्त नेपालमा सेवा विस्तार गरेको छ । नेपालको कानुन अनुसार कम्पनीमा दर्ता भएपछि निश्चित सेवा दिनका लागि सम्बन्धित निकायको अनुमति लिन पर्ने हुन्छ तर आइडिपिले शक्तिको आडमा गैरकानुनी काम गर्दै आएको छ । अस्ट्रेलियामा केन्द्रीय कार्यलय रहेको आइडिपिले शैक्षिक परामर्श तथा भाषा शिक्षण निर्देशिकाको खिल्ली उडाउँदै नेपालमा परामर्श सेवा दिइरहेको छ ।
परामर्श सेवाको अनुमति विविध कारणले नलिएको भएतापनि शैक्षिक मेलाको आयोजना गर्न कम्पनी रजिष्ट्रारको कार्यलयमा दर्ता भएको संस्था वा कम्पनी भए पुग्छ । आइडिपिले कम्पनीको मार्फतबाट शैक्षिक मेलाको अनुमति लिनसक्ने प्रावधान हुँदा हुँदै अनुमति नलिएर आफ्नो शक्ति प्रदर्शन गरिरहेको छ । आइडिपिका संचालक मध्येका एक द्धिराज शर्मा प्रमानमन्त्री केपि शर्मा ओलीका आफन्त हुन् भने अर्का संचालक निरज सिटौला काँग्रेस नेता कृष्णप्रसाद सिटौलाका आफन्त हुन् । प्रधानमन्त्री र प्रमुख प्रतिपक्षी दलका नेताहरुको आडमा आइडिपिले राज्यको कानुनभन्दा माथि रहेर काम गरिरहेको छ । राज्यको कानुनमाथि धावा बोलीरहेको छ ।
विश्वका उत्कृष्ट विश्वविद्यालयको लगानी रहेको आडिपिमा नेपालीको ३९ प्रतिशत लगानी छ । आइडिपिले यही पुस २६ गते शनिबारका दिन काठमाडौंको होटल ¥याडिसनमा अस्ट्रेलिया अध्ययन सम्बन्धी शैक्षिक मेला गर्दै छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तरगतको शैशिक परामर्श तथा प्रमाणिकरण शाखाले अनुमति नपाएको आइडिपिले मेलाको पनि अनुमति लिएको छैन् ।
के छ कानुनमा ?
‘शैक्षिक परामर्श तथा भाषा शिक्षण निर्देशिका २०७३’ ले कुनैपनि शैक्षिक मेलाहरुको आयोजना गर्नका लागि मन्त्रालय वा मन्त्रालयले तोकेको निकायबाट अनिर्वार्य अनुमति लिनुपर्ने स्पष्ट व्यवस्था गरेको छ । उक्त निर्देशिकाको परिच्छेद ४ अन्तरर्गतको दफा ७ को उपदफा ३ को (घ)मा शैक्षिक मेलासम्बन्धि व्यवस्था गरेको छ । देशभर तथा विदेशमा अध्ययनका लागि कुनैपनि संस्थाले शैक्षिम मेला गर्न चाहेमा मन्त्रालय वा मन्त्रालयले तोकेको निकायबाट पूर्व स्विकृति लिनपर्ने हुन्छ ।
निर्देशिकाको दफा ७ को उपदफा ३ (घ) स्वदेशी तथा विदेशी अध्ययन संस्थाले अध्ययन सम्बन्धी शैक्षिक परामर्श प्रदान गर्न शैक्षिक मेला वा प्रदशनी आयोजना गर्दा मन्त्रालय वा मन्त्रालयले तोकेको निकायबाट पूर्व स्विकृति लिनुपर्ने उल्लेख छ । मन्त्रालयले शैक्षिक परामर्श तथा प्रमाणिकरण शाखाले शैक्षिक मेलाको अनुमति दिने व्यवस्था गरेको छ । यदि कसैले अनुमति नलिई शैक्षिक मेला आयोजना गरे कारवाही गरिने मन्त्रालयले जनाएको छ ।
आइडिपिको मेला हुन दिन्नै
शैक्षिक परामर्श क्षेत्रको सबैभन्दा ठुलो संस्था नेपाल शैक्षिम परामर्श संघ (इक्यान)ले आइडिपिको शैक्षिक मेलामा हस्तक्षप गर्ने जनाएको छ । इक्यानले शिक्षा मन्त्रालय, प्रहरी प्रशासन लगाएर मेला गर्न नदिने जनाएको छ । मोटिभेट न्यूज डटकमसँग कुरा गर्दै इक्यानका महासचिव शेषराज भट्टराईले आइडिपिले गर्दै आएको गैरकानुनी धन्दामाथि रोक लगाइने बताए ।
उनले भने, ‘आइडिपिले नेपालको कानुनलाई हातमा लिएर गैरकानुनी कार्य गरिरहेको छ । यसमा सम्बन्धीत निकायको ध्यान जावस । हामी शिक्षा मन्त्रालयलाई विशेष आग्रह गर्दै मेला रोग्ने तयारी गरिरहेका छौं ।’
त्यस्तै, इक्यानका पूर्वअध्यक्ष तथा इक्यान अध्यक्ष परिषदका संयोजक राजेन्द्र बरालले बैदेशिक लगानीका नाममा गैरकानुनी रुपमा नेपालमा धिरेको आइडिपिलाई नेपालबाट लखेट्नुपर्ने बताए । नेपालको कानुनमा बैदेशिक लगानी सम्बन्धी व्यवस्थामा शैक्षिक परामर्श सेवामा बैदेशिक लगानी आबस्यक नपर्ने स्पष्ट व्यवस्था हँदा हुँदै आइडिपिले नेपालको शैक्षिक परामर्श बजार विगारेको बताए ।
उनले भने, ‘मन्त्रालयले यस विषयमा पहलकदमी लिन पर्छ । देशको कानुनलाई हातमा लिने जो कोहीलाई पनि मन्त्रालयले कारवाही गर्न पर्छ । र गर्ने छ हामी आशाबादी छौं ।’
झुट बोल्यो आइडिपि
आइडिपि इन्टरनेशनल स्टुडेन्ट सर्भिसेस प्रा.लिले शैक्षिक मेलाका लागि अनुमति लिएको भन्दै झुट बोलेको छ । मोटिभेट न्यूज डटकमसँग कुरा गर्दै आइडिपिका संचालक निरज सिटौला (भुपेन्द्र)ले शैक्षिक मेलाका लागि अनुमति लिएको भन्दै ढाँटेका छन् । मोटिभेट न्यूज डटकमसँग कुरा गर्दै सिटौलाले भने, ‘अनमति नलिएर पनि कसैले मेलाको आयोजना गर्ला र ? हामीले अनुमति लिएका छौं । नपत्याए आफिसमा आएुर हेर्नुहोस ।’
सिटौलाले अनुमति लिएको भनेपनि शैक्षिक परामर्श तथा प्रमाणिकरण शाखाको कुनैपनि रेकर्डमा उसले अनुमति लिएको देखिदैन् । अनुमति दिने निकायबाट अनुमति नलिई सिधै प्रधानमन्त्री कार्यलयबाट लिएको हो भने उनी आफैले जानुन् । आइडिपिले शैक्षिक मेलाको अनुमति लिएको हो वा होइन् ? यदि लिएको हो भने कहाँबाट र कसरी लियो र कसले दियो ? यो विषयको विस्तृत विवरण आगामी अंकमा प्रस्तुत गर्नेछौं ।
