किन सञ्चालन भएन काठमाडौँमा विद्युतीय बस
काठमाडौँ– यातायात क्षेत्रमा नवीकरणीय ऊर्जाको प्रयोग गरी सहरी क्षेत्रको वायु प्रदूषण कम गर्न विद्युतीय सवारीसाधनको प्रयोगलाई प्रोत्साहन गरिनेछ । काठमाडौं उपत्यका र सातै प्रदेशका प्रमुख सहर र आसपासका क्षेत्रमा सरकार, प्रदेश र स्थानीय तह एवं निजी क्षेत्रसमेतको सहभागितामा विद्युतीय बस सेवा सञ्चालनमा ल्याइनेछ ।
विद्युतीय सवारीसाधनको प्रयोगलाई देशव्यापी बनाउन नेपाल विद्युत् प्राधिकरणबाट पर्याप्त संख्यामा चार्जिङ स्टेसनहरू स्थापना गर्दै लगिनेछ ।’ यस वर्षको बजेट वक्तव्यको बुँदा नम्बर १ सय ९६ मा माथि उल्लिखित प्रावधान सरकारले कार्यान्वयन गरेको भए यतिबेला काठमाडौं उपत्यका र सातै प्रदेशको मुख्य सहरमा चल्ने तीन सय विद्युतीय बस खरिद भइसक्थ्यो । बस चार्ज गर्न चार्जिङ स्टेसन बनिसकेका हुन्थे । बजेट आएकै आठ महिना पुग्न लाग्यो । आर्थिक वर्षको ६ महिना पनि गुज्रिइसक्यो । यो अवधिमा न बस आइपुगे, न त चार्जिङ स्टेसन नै बने ।
सरकारको नीति तथा कार्यक्रममा पनि यसवर्ष काठमाडौं उपत्यका र सातै प्रदेशको मुख्य सहरमा विद्युतीय बस सञ्चालन गर्ने भनिएको थियो । यही कुरा बजेटमा पनि समावेश गरियो । बजेटमा भएको व्यवस्था कार्यान्वयन गर्न यो आर्थिक सुरु नहुँदै सरकारले असार ३० मा साझा यातायातलाई तीन अर्ब रुपैयाँ उपलब्ध गराएको थियो । यो रकमलाई साझा यातायात सहकारीले सेयरमा परिणत गरेर भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई ‘सेयर प्रमाणपत्र’समेत उपलब्ध गराइसकेको छ ।
पाँच अर्ब रुपैयाँमा उपत्यकाका लागि तीन सय वटा विद्युतीय बस खरिद गर्न साझा यातायात र सरकारबीच गत असारमा सम्झौता भएको थियो । मन्त्रिपरिषद्को असार २९ को निर्णयअनुसार विद्युतीय बस किन्न साझालाई असार ३० मा उक्त रकम उपलब्ध गराइएको थियो । उक्त समाचार कान्तिपुर दैनिक प्रकाशित छ ।