नेपाली सेनाको क्याम्पमा रेणु दाहालको आँखा, के साँच्चै सर्दैछ सेनाको ब्यारेक ?
चितवन – भरतपुर महानगरपालिकाकी मेयर रणु दाहालको आँखा नेपाली सेनाको व्यारेकमा परेको छ । चितवनको भरतपुर विमानस्थल विस्तार गर्नका लागि सेना हटाउनु पर्ने भएकाले त्सका लागि उनले गृहकार्य थालेकी छन् । नेपाली सेनालाई कहाँ सार्ने भनेर उनले विभिन्न ठाउँमा जग्गा हेरिरहेकी छिन् ।
उत्तरपश्चिमतर्फको नेपाली सेनाको घोडा प्रजनन केन्द्र र कालीबहादुर गणको केही जग्गा आवश्यक पर्ने देखिएपछि सेनालाई वैकल्पिक स्थानमा सार्ने विषयमा छलफल चलिरहेको छ । भरतपुर महानगरपालिकाकी मेयर दाहालले नेपाली सेनाको ब्यारेक र घोडा प्रजनन केन्द्र स्थानान्तरणका लागि दियालो बंगलाको जग्गा प्रस्ताव गरेकी छन् । मेयर दाहालका अनुसार नेपाल ट्रष्टको नाममा रहेको पुरानो दरबार दियालो बङ्गलाको जमिनलाई पहिलो प्राथमिकतामा राखिएको छ ।
सेनाले पनि यहीँ नै बढी इच्छा देखाएको छ । वडा नं १ मा पर्ने आँपटारीस्थित सो बङ्गला क्षेत्रमा ७० विघा हाराहारी जमीन छ । तत्कालिन राजा महेन्द्रको निधन यही बंगलाको दरवारमा भएको थियो ।
सेनाको गण राख्दा त्यहाँको ऐतिहासिक महत्वका संरचना सुरक्षित हुने विश्वास महानगरको छ । दोस्रो विकल्पका रुपमा आँपटारीको जंगल क्षेत्र, तेस्रो विकल्पका रुपमा ठिमुराको सार्वजनिक जग्गा र चौथो विकल्पमा भतेरीको वन क्षेत्र अगाडि सारिएको छ ।
ती जमीनको रंगीन नक्सासहित आवश्यक सम्पूर्ण कागजपत्र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलाई बुझाइएको महानगर प्रमुख दाहालले अनलाइनखबरलाई जानकारी दिइन् ।
घोडा फार्मका लागि गणेशस्थानदेखि पूर्वको क्षेत्रमा प्रस्ताव गरिएको छ । प्रमुख दाहालले नेपाली सेनाले जुन स्थान उपयुक्त ठान्दछ सोही ठाँउमा उचित व्यवस्थापन गरिने बताइन् ।
पर्यटन मन्त्रालयका सहसचिव बुद्धिकृष्ण लामिछाने संयोजकत्वको ५ सदस्यीय समतिले एक महिनाअघि विमानस्थलको स्थलगत निरीक्षण गरेको थियो । समितिमा पर्यटन मन्त्रालयका सुर्वण भट्टराई सदस्य सचिव छन् भने, नेपाली सेनाका कर्णेल विजितराज रेग्मी, रक्षा मन्त्रालयबाट उपसचिव प्रदीप सुवेदी, र नागरिक उड्यन प्राधिकरणबाट इन्जिनियर नलविक्रम थापा सदस्य छन् ।