विप्लव नेकपाको जिल्ला नेता पक्राउ

सोमबार, २८ पौस २०७६

काठमाडौं–विप्लव नेकपाको एक जना जिल्ला नेतालाई प्रहरीले पक्राउ गरेको छ ।

विप्लवका जिल्ला कमिटी सदस्य तथा पश्चिम दाङका सेक्रेटरी ईश्वरी पाण्डेलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । पाण्डेलाई सोमबार बिहान सवा ९ बजेतिर तुलसीपुर उपमहानगरपालिका वडा नं. ९ शिवपुर गहतेबाट पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय दाङबाट सादा पोशाकमा खटिएका प्रहरीले पाण्डेलाई पक्राउ गरेका थिए । प्रहरीका अनुसार असोज महिनामा राजपुर गाउँपालिकाबाट २१ जना नेता कार्यकर्ता पक्राउ परेपछि पाण्डेले जिल्लामा विप्लवको गतिविधि सञ्चालन गर्दै आएका थिए ।

‘पाण्डेले व्यापारी तथा विभिन्न संघसंस्थालाई थर्काउँदै चन्दा आतंक फैलाएको भन्ने गुनासो बढेपछि पक्राउ गर्नु परेको हो,’ एक प्रहरी अधिकारीले भने विप्लवका एक नेताले एम्बुलेन्समा झुक्काएर गएको प्रहरीले पाण्डेलाई पक्राउ गरेको भन्दै आपत्ति जनाएका छन् ।

‘बिरामीको बहानामा एम्बुलेन्समा गएका साधा प्रहरीले पाण्डेलाई झुक्काएर गहुँबारीमा लखेटी लखेटी पक्राउ गरेको भन्ने छ,’ती नेताले भने,‘प्रहरी प्रशासनको त्यो भन्दा घृणित कार्य अर्को हुन सक्दैन ।’ पाण्डे पक्राउ परेकोबारे प्रहरीले आधिकारीक रूपमा कुनै जानकारी दिएको छैन ।