काठमाडौंमा शक्तिशाली बम विस्फोट, विप्लवको कब्जामा बालुवाटारको सरकारी जग्गा

बिहिबार, २ माघ २०७६

काठमाडौं – नेत्रविक्रम चन्द्र (विप्लव) नेतृत्वको नेकपाले काठमाडौंमा शक्तिशाली बम विस्फोट गराएको छ । बालुवाटारस्थित ललितानिवास जग्गा प्रकरणमा मुछिएका शोभाकान्त ढकालको घरमा शक्तिशाली बम विस्फोट भएको छ ।

बुधबार साँझ नागार्जुन १ नर्सरी चोकस्थित उनको घरमा बिस्फोट भएको हो । विस्फोटबाट घरको गेट ढलेको छ भने शिशा फुटेको छ । पार्किङ गरेर राखिएको गाडीमा पनि क्षति भएको छ ।

त्यस्तै, बालुवाटारस्थित ललितानिवासको जग्गा कब्जा गरेको विप्लप नेतृत्वको नेकपाले घोषणा गरेको छ । प्रतिबन्धित नेकपाले बुधबार साँझ एक व्यानर राखेर ललितानिवासको जग्गा कब्जाको घोषणा गरेको हो ।

नेकपाले जारी गरेको व्यानरमा ललिता निवास किन कब्जा गर्नुपरेको भन्ने व्यहोरा उल्लेख गरिएको छ । जसमा ११५ रोपनी जग्गा पार्टीको मातहतमा आउने गरी कब्जा गरिएको उल्लेख छ । सरकारी जग्गा माफियाहरुले किनबेच गरेकाले कब्जा गरेको यो नेकपाको सूचनामा उल्लेख छ ।