सफलता चाहनुहुन्छ ? पढ्नुहोस् सफलताका १० शुत्र

शुक्रबार, ३ माघ २०७६

काठमाडौं – हरेक दिन उत्प्रेरणात्मक लेख, सफलताका कथा, खुशी जीवनशैलीका विषयहरुमा केन्द्रीत रहेर मोटिभेट न्यूज डटकमले विभिन्न सामाग्रीहरु प्रस्तुत गर्दै आइरहेको छ । आज हामी खुशी रहन र सफलताको शिखर चुम्नका लागि १० बुदामा सफलताका शुत्रहरु यहाँको माझमा प्रस्तुत गर्दैछौं ।

यी सफलता शुत्रहरु ज्योति विकास बैंकका प्रमुख कार्यकारी अधिकृत सिए मनोज ज्ञवालीको फेसबुक पेजबाट लिएका छौं । संधै सकारात्मक सोच राख्ने, उर्जावान, युवा व्यवस्थापक ज्ञवालीका सफलताका १० शुत्र यस प्रकार छन् ।

१) सोच ठूलो राखौं । आफूलाई बुझौ, आफ्नो कमजोरी र सक्षमता आफै पत्ता लगाऔं अनी लक्ष्य निर्धारण गरी त्यसमा कठिबद्द भएर लागौः निरन्तर ।

२) सधै खुल्ला र सकारात्मक सोच राखौं । जीवनमा सफलता पाउन धेरै बाटाहरु रहेको तथ्य नभुलौं । एउटा बाटो बन्द हुंदा सयौ अरु सुन्दर गन्तव्यका बाटाहरु भेटिन सक्छन । खुशी र सकारात्मक रहौं।

३) डरलाई सधैभरि जितौं । म सफल बन्दिन, यो काम गर्न सक्दिन, ममा खुबि र दक्षता नै छैन, म अरुजस्तो छैन भन्ने भावनालाई आजैदेखी टाढा राखौ । हामी जस्तो सोच्छौं, त्यस्तै बन्छौ।

४) धैर्यशिल रहौं। रात भर मै सफल हुन सकिदैन भन्ने तथ्य बुझौं र लगातारको मेहनतले नै सफलता देखाउछ अनी बीचमा आउने बाधा ब्यवधानहरुले हामीलाई बढि अनुभवी र परिस्कृत बनाउछ भनेर बुझौं। बाधा ब्यबधान पुर्याउने अनी हामीलाई खराब लाग्ने मान्हछेहरुलाई पनी धन्यबाद दिउँ, सम्हालिएर चल्न यिनैले सिकाउछन । काँचो फलामबाट खुकुरी बन्न ९०० डिग्री तापमानमा पोलीनु पर्छ, पिटाई खानु पर्छ अनी त्यत्तीकै घोटिनु पर्छ।

५) अनावश्यक दुविधामा परेर धेरै सोचेर र प्लान गरेर नबसौं । कुनै काम गर्नु छ भने त्यसलाई तुरुन्तै शुरु गरौं अनी समस्यामा होईन लक्ष्यमा फोकस गरौं । जे मा हामी फोकस गर्छौं, त्यहि देखिन्छ र प्राप्त हुन्छ।

६) आफू सहि बाटोमा छु कि छुइन भनेर सधैभरी सचेत रहौं । यदि गलत बाटोमा छौं भने जति मेहनत गरेपनि त्यसले हाम्रो लक्ष्यमा पुर्याउदैन।

७) जीवनको लक्ष्य निर्धारण गरौ अनी लक्ष्यलाई दिन, हप्ता,महिना र बर्षमा बाडौं। लक्ष्यमा पुग्न आफूले कति बाटो हिड्न बाकी छ भन्दा पनि कति बाटो हिडिसके भनेर सधैभरी ख्याल राखौं । यसले एकातर्फ आफूले गरेको मेहनत सम्झाउछ भने अर्को तर्फ लक्ष्यमा पुग्न थप उर्जा र प्रेरणा दिन्छ ।

८) सोच सकारात्मक, शब्दहरु मधुर, ह्रदय विशाल, कर्म उच्च र मुस्कान मिठो राखौं। हामीले गर्ने व्यवहारले नै अरुको हामी प्रतिको व्यवहारको दिशा तय हुन्छ। यो ऐना जस्तै हुन्छ सोचौं। अरुलाई दोष दिनु पुर्व आफ्नो बोली, व्यबहार र सोचलाई नियालौं । अरुलाई भन्दा आफूलाई परिवर्तन गर्न सजीलो छ भनेर बुझौं। ‘अनुहारमा कालो लागेको छ भने ऐना पुछेर हुदैन’ मनन गरौं।

९) मानिसलाई सफलताको लागि सम्बन्धहरु र पैसाको पनि आवश्यकता पर्छ । राम्रो सम्बन्ध र पुग्दो पैसाले आत्मविश्वास बढाउछ भने विकल्प तिर हामफाल्न हिक्मत दिन्छ । आफ्ना सहि सम्बन्धहरुलाई सांचेर राखौं र आफूसँग भएको पैसा सधै सही ठाउँमा मात्र प्रयोग गरौं ।

१०) सधैभरि आफूलाई बुझ्ने र सहयोग गर्ने साथीहरुको माझमा बसौ, केहि आन्तरिक योजना या समस्या छ भने तिनै सिमीत साथीहरु विच पोखौं । बोल्दा विचार गरौं, गाली कसैलाई नगरौं अनी कहिल्यै अरुको कुरा नकाटौं।