आज दिनभर पानी पर्ने , भोलिदेखि कस्तो रहला त मौसम ?

शुक्रबार, ३ माघ २०७६

 

काठमाडौं   -नेपालमा पश्चिमी न्युन चापीय प्रणालीका कारण आज देशैभरी बदली र वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसमविद् प्रतिभा मानन्धरले आज बाह्रखरीसँगको कुराकानीमा भनिन्, ‘‘आज दिनभरि देशैभर मौसम बदली भए पनि भोलिदेखि भने विस्तारै सुधार हुनेछ ।’’महाशाखाका अनुसार अहिले नेपालको पश्चिमी, मध्य भूभागमा र पुर्वी पहाडी भूभागमा सामान्यदेखि पूर्णतया बदलीको अवस्था छ ।

आज शुक्रबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने र देशका अधिकांश स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।उच्च पहाडी तथा हिमाली भेगका अधिकांश स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको र पश्चिम तथा मध्यको उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानहरुमा भारी हिमपातको सम्भावना रहेको पूर्वानुमान महाशाखाको दाबी छ ।आज राति देशभर आंशिकदेखि सामान्य बदली रहने तथा देशका केही स्थानहरुमा हल्का वर्षा हुने जनाइएको छ ।

उच्च पहाडी तथा हिमाली भेगका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना समेत रहेको जनाइएको छ ।भोलि शनिबार देशभर आंशिकदेखि सामान्य बदली रहने र पहाडी भूभागका थोरै स्थानहरुमा हल्का वर्षा हुने जनाइएको छ ।पश्चिमी उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाइएको छ ।

शनिबार राति देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली भइ पश्चिमी पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षा हुन सक्ने सम्भावना रहेको जनाइएको छ ।आइतबार दिउँसो देशको पहाडी भूभागमा आंशिक बदली भइ पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षा हुन सक्ने सम्भावना रहेको जनाइएको छ ।

आइतबार राति देशका पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने पूर्वानुमान महाशाखाले उल्लेख गरेको छ ।आगामी २४ घण्टा देशका अधिकांश स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको तथा उच्च पहाडी तथा हिमाली भेगमा हल्कादेखि मध्यम हिमपातका साथै मध्य र पश्चिमका उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानहरुमा भारी हिमपातको सम्भावना रहेकोले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।