सुर्खेतमा गोली चल्यो, २० जना प्रहरी घाइते
सुर्खेत – सुर्खेतको वीरेन्द्रनगरमा कफ्यू लागेको छ । बिहान वीरेन्द्रनगरको गौतमचोक नजिकै टिपरले किचेर एक युवकको मृत्यु भएपछि सुरु भएको आन्दोलन उग्र बनेपछि वीरेन्द्रनगर बजार क्षेत्रमाम कफ्यू लागेको हो ।
जिल्ला प्रशासन कार्यालय सुर्खेतले मंगलबार ६ः३० देखि बुधबार बिहान ६ बजेसम्मका लागि कर्फ्यु लगाइएको कर्णाली प्रदेशका डीआईजी पुर्णचन्द्र जोशीले जानकारी दिए ।
वीरेन्द्रनगरमा मंगलबार बिहान एउटा टिपरको ठक्करबाट २० वर्षीय केशर सिंहको मृत्यु भएको थियो । सिंहको मृत्युपछि आक्रोशित स्थानीयले शव उठाउन दिएका थिएनन् । तर, प्रहरीले शव उठाएपछि आक्रोशित स्थानीय र प्रहरीबीच झडप भएको थियो ।
झडपालाई साम्य पार्न प्रहरीले अश्रु ग्यास र हवाई फायर गरेको थियो । झडपमा २० जना प्रहरी घाइते भएको र केही स्थानीय पनि घाइते भएको डीआईजी जोशीले जानकारी दिए । स्थानीयतर्फ कति घाइते भए भन्ने यकिन तथ्यांक आइनसकेको उनले बताए ।
टिपर र चालक अहिले प्रहरी नियन्त्रणमा छन् ।