विप्लवको विद्यार्थी संगठनलाई स्ववियु चुनावमा भाग लिने बातावरण मिलाउँछु : उपकुलपति बास्तोला
काठमाडौँ – स्वतन्त्र विद्यार्थी यूनियनको चुनावलाई लिएर अनेरास्ववियु (क्रान्तिकारी)ले त्रिभुवन विश्वविद्यालयका उपकुलपती धर्मकान्त बास्तोलालाई ज्ञापनपत्र बुझाएको छ । क्रान्तिकारीले आफ्नो संगठनमाथि अघोषित रुपमा प्रतिबन्ध लगाएर गरिने स्ववियु चुनावको औचित्य नभएको समेत बताएको छ ।
विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारीको उपत्यका क्षेत्रीय समन्वय समिति अन्तरगत त्रिवि जिल्ला समितिले मागपत्र बुझाएको हो । त्रिवि जिल्ला समितिका अध्यक्ष मदन चापागाईँको नेतृत्वमा गएको विद्यार्थीको एक टोलीले मंगलबार दुईबुँदे मागपत्र बुझाएको छ ।
त्रिविले घोषणा गरेका स्ववियु चुनावबारे अखिल क्रान्तिकारीले ध्यानाकर्षण भएको बताएको छ । आफ्नो संगठनमाथि सरकारले अघोषित रुपमा प्रतिबन्ध लगाएर घोषणा गरिएको चुनावको कुनै औचित्य नरहेको समेत अखिल क्रान्तिकारीले बताएको छ ।
ज्ञापनपत्रमा गिरफ्तार गरिएका संगठनका नेता–कार्यकर्तामाथि लगाइएका झुटा मुद्धा खारेज गरी रिहाई गर्नुपर्ने माग गरिएको छ । त्यसैगरी अखिल क्रान्तिकारीले संगठनका शान्तिपूर्ण गतिविधिमाथिको हस्तक्षेप बन्द गरिनुपर्ने माग राखेको छ । आफ्नो संगठनमाथि प्रतिबन्ध लगाएर गरिने स्ववियु चुनाव बहिस्कार गर्न बाध्य हुने अखिल क्रान्तिकारीले चेतवनी समेत विज्ञप्तिमा उल्लेख ।
अखिल क्रान्तिकारीको मागपत्र बुझ्दै उपकुलपति बास्तोलाले चुनावमा भाग लिने वातावरण बनाउन आफूले पहल गर्ने बताएका थिए । उनले अखिल क्रान्तिकारी चुनावमा आए शान्तिपूर्ण गतिविधिमाथि हस्तक्षेप र नेता, कार्यकर्ताको गिरफ्तारी नगर्नेबारे सरकारसँग पहल गर्ने प्रतिबद्धता जाहेर समेत गरेका थिए ।
