बल्ने ढुङ्गा’को प्रलोभन देखाउँदै यसरी करोडौं लुटियो
काठमाडौँ– सेतो चट्टानी ढुङ्गा टल्किन्छ। त्यो पनि अँध्यारो रातमा। जो कोहीले देखेका पनि छौं। तर, बल्न त बल्दैन। ‘ढुङ्गा बल्छ’ र ‘बल्ने ढुङ्गा छ’ भनेरै कतिपय भने ठगिन्छन् त कति लुटिन्छन् पनि।
गत बिहीबार बिहान करिब १० बजेको थियो। काठमाडौंको भगवानपाउँका बच्चुराम गुरुङ ५० लाख रूपैयाँसहित लुटिए। लुटिनुको कारण खोतल्दै जाँदा त ‘बल्ने ढुङ्गा’ नै रहेछ।
उनी नेपाली सेनाका सेवा निवृत्त सुवेदार हुन्। चिनजानकै साथी काठमाडौंको मित्रनगर बस्ने वेदबहादुर भन्ने भीमबहादुर घर्तीमगरले ‘मेरो बाजेसँग बल्ने ढुङ्गा छ, करोडभन्दा बढीमा बिक्री हुन्छ, किन्नुहोस्, तपाईँबाट करोडौंमा किन्ने मान्छे पनि छ’ भनी सेटिङमै गुरुङसँग ग्राहक ‘नक्कली’ बनाएका रहेछन्। अन्ततः ती नक्कली ग्राहकले गुरुङबाट जसरी पनि ‘बल्ने ढुङ्गा’ किन्ने भएछन्।
ग्राहकले किन्ने भएपछि लाखौं रूपैयाँ नाफा कमिने लोभको चक्करमा गुरुङ परे। त्यसपछि उनले नजिकैको एउटा बैंकमा आफ्नो घर धितो राखे। घर धितो राखेर निकालेको र आफूसँग भएको केही रकम जम्मा गरेर ५० लाख पुर्याए।
गत बिहीबार(माघे ९ गते) बिहान करिब १० बजे ५० लाख रुपैयाँको बिटो बोकेर काठमाडौंकै काभ्रेस्थली शान्तिधाम मन्दिर जाने कच्ची सडकमा गए। त्यहाँ उनलाई भीमबहादुरले आफ्नो बाजेसँग भएको ‘बल्ने ढुङ्गा’ ५० लाख रूपैयाँमै दिन्छु भनी बोलाएका थिए।
सोहीअनुसार त्यहाँ पुगेका उनले अन्ततः ‘बल्ने ढुङ्गा’ भने पाएनन्। बरु उल्टै मगरसहित आएका ६ जनाले खुकुरी र फलामको लठ्ठी देखाउँदै आँखामा खुर्सानीको धुलो छर्केर भएको सबै रकम लुटेर लगे।
त्यसपछि उनको ‘बल्ने ढुङ्गा’बाट लाखौं रूपैयाँ कमाउँला भन्ने सपना चकनाचुर भयो। घर पनि धितोमै रह्यो। अहिले सोही ‘बल्ने ढुङ्गा’ गुरुङको टाउको दुखाइको विषय बनेको छ।
तर, पीडित गुरुङले दिएको किटानी जाहेरीका आधारमा प्रहरीले लुटपाटमा संलग्न नुवाकोटको दुप्चेश्वर–६ कटजुनका ३० वर्षीय नकुर तामाङ, रसुवाको आमाछोङ्दी– ५ गोलजुङका ३८ वर्षीय दावाछिरिङ तामाङ, रामेछापको मन्थली–९ पुरानागाउँका ३६ वर्षीय कुमारबहादुर बुढाथोकी, रसुवाकै उत्तरगया–२ का ३६ वर्षीय तेञ्जिङबहादुर तामाङ र सोही ठाउँका २८ वर्षीय सञ्जित वाइबालाई १८ लाख ७५ हजार ५ सय रूपैयाँसहित पक्राउ गरेको छ। उनीहरूबाट प्रहरीले लुटपाटमा प्रयोग गरिएका ३ वटा मोटरसाइकल, खुकुरी, फलामको लट्ठीलगायत सामग्री बरामद पनि गरेको छ।
उनीहरू सबै अहिले प्रहरी खोरमा छन्।
यसअघि २०७४ साल पुस २ गते इलाममा पनि ‘बल्ने ढुङ्गा’कै नाममा ठगी गरेको भन्दै प्रहरीले पाँच जनालाई पक्राउ गरेको थियो। पक्राउ पर्नेहरू थिए– फिदिम–१० का भयप्रसाद विक, फालेलुङ–८ का महेन्द्रकुमार दर्जी, फाल्गुनन्द–४ का रुद्रकुमार नेम्वाङ, फाल्गुनन्द–६ का योगेन्द्रप्रसाद आङ्देम्बे र फाल्गुनन्द–१ का राजबहादुर तामाङ।
‘बल्ने ढुङ्गा दिन्छु, जुन अमेरिकामा करोडौं रुपैयाँमा बिक्री हुन्छ’ भन्दै तीन जनाबाट ३ करोड १७ लाख ५९ हजार रूपैयाँ ठगीको अभियोग उनीहरूमाथि लागेको थियो।
प्रहरीका अनुसार ठगिएकाहरू भने पाँचथरको फिदिम–१ का तारा भट्टराई, फिदिम बजारमा मनी ट्रान्सफर सञ्चालन गर्दै आएका फिदिम–२ का डिल्ली ढुङ्गाना र फाल्गुनन्द(६ आङसराङका कांग्रेस नेतासमेत रहेका निर्माण व्यवसायी राजेन्द्र रिजाल हुन्।
महानगरीय अपराध अनुसन्धान महाशाखा टेकुका प्रवक्तासमेत रहेका प्रहरी उपरीक्षक मुकेशकुमार सिंह ‘बल्ने ढुङ्गा’ हुँदैन भन्छन्। ‘बल्ने ढुङ्गाको अहिलेसम्म अस्तित्व छ भन्ने कहीँबाट पुष्टि हुन सकेको अवस्था छैन,’ उनले नेपालन्युजसँग भने, ‘बल्ने ढुङ्गामात्रै होइन, गौलोचन, एकमुखे रुद्राक्षलगायत वस्तुमा अलौकिक शक्ति छ भन्दै भ्रमित पारी ठगी गरेका घटना पनि हामीकहाँ उजुरीका रूपमा आउने गरेका छन्।’
हालसम्मको अनुसन्धानले ‘बल्ने ढुङ्गा’बारे एउटा तथ्य फेला परेको प्रहरी दाबी छ। त्यो हो, ठगहरूले सेतो चट्टानी ढुङ्गाभित्र हातेघडीमा प्रयोग हुने ‘ब्याट्री’ राखेर झलल बालेपछि ‘बल्ने ढुङ्गा’ भनेका हुन्। जुन ब्याट्रीको चार्ज हुँदासम्म उक्त ढुङ्गा उज्यालो देखिन्छ। यो नै प्रहरी अनुसन्धानको तथ्यसहितको निष्कर्ष हो। त्यसपछि मानिसहरूलाई यो ‘बल्ने ढुङ्गा’ अमूल्य हो, करोडौंमा बिक्री हुन्छ भनेर भ्रममा पार्दै ठग्ने गरेको प्रहरीले जनाएको छ।
प्रवक्ता सिंह भन्छन्, ‘जसको अस्तित्व नै छैन, त्यसको प्राप्तिपछि ठूलो धनलाभ हुने र शुभ कार्य सफल हुने भन्दै ठगहरूले ठग्ने गरेको देखिन्छ। उनीहरूबाट पीडित हुनेहरूचाहिँ सिधासोझा छन्। कतिपयचाहिँ धनी अनि लोभी प्रवृत्तिका मान्छेहरु पनि परेका छन्।’
ठगहरूले यस्तो कार्य सङ्गठित रूपमै गर्दै आएका प्रहरीको भनाइ छ। ‘बल्ने ढुङ्गा, वन झाँक्रीको हड्डी, एकमुखे रुद्राक्ष, दाहिने शंख, नक्कली सुन, नक्कली डलर, पुरातात्विक वस्तुहरूको नाममा मानिसहरू बढी ठगिने गरेको विवरण प्रहरीमा छ।