डिएसपीकै नक्कली प्रमाणपत्र
काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली प्रमाणपत्र पेश गरी नेपाल प्रहरीमा बढुवा भएका अरुणकुमार शाहविरुद्ध मुद्दा दायर गरेको छ । अख्तियारले शाहले परीक्षा नै नदिई भारतबाट बि.ए.पास गरेको नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी बढुवा भएको आरोपमा बिहीबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो ।
उनीमाथि अनुसन्धान हुँदा मगध विश्वविद्यालय बोधगया भारतअन्तर्गतको बीडी इभिनिङ कलेज पटना १ बाट बि.ए. तहको झुठ्ठा शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी सोही आधारमा प्रहरी निरीक्षक तथा प्रहरी नायब उपरीक्षक पदमा बढुवासमेत भई सरकारी लाभ तथा सुविधा लिएको देखिएको अख्तियारले जनाएको छ ।
भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम कसुर गरेको पुष्टि हुन आएको हुँदा तत्कालीन प्रहरी निरीक्षक शाहलाई साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र सोही ऐनको दफा २९ को उपदफा (२) तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको सजाय मागदावीसहित आरोपपत्र दायर गरेको अख्तियारले जनाएको छ ।