कैलाली बिहानैदेखि सडक अवरुद्ध, स्थानीयको ढुङ्गामुढाबाट ८ जना प्रहरी घाइते

आइतबार, १९ माघ २०७६

काठमाडौँ– शनिबार मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु भएको विषयमा बिबाद सृजना भएपछि कैलालीको लम्कीचुहा नगरपालिका तनावग्रस्त बनेको छ।

शनिबार पूर्वपश्चिम राजमार्गको लम्की खण्डमा से २ प १८५० नम्बरको मोटरसाइकल दुर्घटना भई २२ वर्षीय मायाराम चौधरी मृत अवस्थामा भेटिएका थिए।

स्थानीयबासीले दुर्घटना गराउने ब्यक्तिको पहिचान गरी कारबाही गर्नुपर्ने मागसहित आइतबार बिहानैदेखि पूर्वपश्चिम राजमार्गको लम्कीमा यातायात सेवा ठप्प पारेका छन्। प्रहरीले सडक खुलाउन खोज्दा स्थानीयले ढुङ्गामुढा गरेपछि ८ जना प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षबहादुर बस्नेतले जानकारी दिए।

स्थिति नियन्त्रणमा लिन केही राउण्ड अश्रु ग्याँस प्रहार गरिएको उनले बताए। अहिले सडक अवरुद्ध भएपनि अन्य अवस्था प्रहरीको नियन्त्रणमा रहेको उनको भनाइ छ। प्रहरीका अनुसार अहिले घटनाका विषयमा जिल्ला प्रशासन कार्यालय कैलालीमा सर्वदलीय बैठक बस्ने तयारी भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीले ठक्कर दिएको आशंकामा एम्बुलेन्स र चालकलाई नियन्त्रणमा लिएको छ। घटनाको अनुसन्धानका लागि मोरकेर सेवा समाज लम्कीले सञ्चालन गरेको एम्बुलेन्स नियन्त्रणमा लिएको जनाएको छ।

एम्बुलेन्स चालकलाई पनि नियन्त्रण लिइएको छ। तर, घटना अनुसन्धानकै क्रममा रहेकाले पूर्ण विवरण सार्वजनिक गर्न नमिल्ने प्रहरीले जनाएको छ। युवकले चलाएको मोटरसाइकललाई एम्बुलेन्सले ठक्कर दिएको आशंका गरिएको छ।