मेनेजर काटछु भन्दै खुकुरी लिएर बैंक छिरेपछि

शनिबार, ३ फाल्गुन २०७६

काठमाडौँ- बैंकका ब्रान्च मेनेजरलाई काटछु भन्दै खुकुरी लिएर बैंक प्रवेश गरेका एक युवा पक्राउ परेका छन । पक्राउ पर्नेमा मकवानपुरको हेटौंडा उपमहानगरपालिका ४ का ४४ वर्षीय गजेन्द्रराज गिरी छन्। जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट असई नवीन विक्रम थापाको कमाण्डमा खटिएका प्रहरी टोलीले गिरीलाई पक्राउ गरेको हो। गिरीले शुक्रबार १२ बजे हेटौंडा नेपाल बैंकको शाखामा खुकुरी लिएर प्रवेश गरेका थिए। गिरीे बिहीबार मात्र सुनका गहना राखेर कर्जा लिन लाग्दा सुन नक्कली होला मिल्दैन भनेपछि पख देख्लास् भन्दै बैंकबाट बाहिरिएका थिए । त्यसको भोलिपल्ट शुक्रबार बा ५ च २६२५ नम्बरको गाडीमा खुकुरी हालेर बैंक पुगेका थिए ।प्रहरीले उक्त कार खुकुरीसहित नाइनस्टिक १ थान, बेल्टको बल्क फिट भएको १ थान चक्कु बरामद गरेको छ । गिरी यसअघि गत कात्तिकमा सिसि टिभीको कार्यालय तोडफोडमा संलग्न भई कारबाहीमा परेको व्यक्ति भएको जनाइएको छ ।