भारतसँग विवाद गर्नुभन्दा सिमानामा पर्खाल लगाउँ : माधव नेपाल

मंगलबार, ३० बैशाख २०७७

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का बरिष्ठ नेता माधव कुमार नेपालले नेपाल र भारतबीच खुला सिमाना भएकाले बिभिन्न समस्या आइरहेको भन्दै पटक–पटक विवाद गरिरहनु भन्दा सिमानामा काँडेतार वा पर्खाल लगाउन सकिने बताएका छन् ।

‘सीमा मिच्ने काम भइरहेको छ । दशगजा क्षेत्रमा बाँध बाध्ने काम भइरहेको छ । हुँदाहुँदा त सुरक्षाफौज लगाएर बाटो निर्माणको काम भयो,’ संसदको अन्तर्राष्ट्रिय सम्वन्ध समितिको बैठकमा बोल्दै पूर्वप्रधानमन्त्री नेपालले भने, ‘विवाद सधैंभरि गर्नुछ भने त्योभन्दा राम्रो त कन्ट्रोल गर्नेतिर जानुपर्यो । त्यसको निम्ति काँडेतार लगाएर हुन्छ कि, पर्खाल खडा गरेर हुन्छ कि । सधैंभरि विवाद गर्नुभन्दा त केही उपाय गर्नु राम्रो ।’

उनले सीमामा नियमन र व्यवस्थापन गर्न कसरी सकिन्छ भन्ने कुरामा जानै पर्ने अवस्था आएको बताए । सीमा स्तम्भ भत्काइदिने, सार्ने, नेपाली भूमि मिच्ने काममा सीमा सुरक्षा बल नै संलग्न भएका घटनाले सार्वभौम छिमेकी राष्ट्रप्रति भारतको दृष्टिकोणमै गम्भीर प्रश्न उठेको नेता नेपालले बताए ।

आफ्नो देशको भूमिको रक्षा गर्ने सवालमा सबै नेपाली र राजनीतिक दलहरु एकजुट भएको बताउँदै नेपालले यही बेला भारत र अर्को छिमेकी देश चीनसँग सरकारले कुरा गर्नुपर्ने बताए । ‘पूर्णतयारीका साथ, सबै खालका तथ्य तथ्यांकका साथ र उच्च मनोबलका साथ हामीले भारत सरकारसँग कुरा गर्नुपर्छ । यससँग जोडिएका विषयवस्तु भएको हुनाले चीन सरकारसँग पनि कुरा गर्नुपर्छ ।’

नेपाली भूमि मिचेर मानसरोवरसम्म पुग्ने बाटो निर्माण गर्ने र त्यसको उद्घाटन गर्ने भारतको काम त्यो अत्यन्त दुःखद र आपत्तिजनक भएको बताए । ‘यसले नेपालको र भारतको बीचमा भएको सहमति र सम्झौताको पनि गम्भीर उल्लंघन गरेको छ । सँगसँगै सार्वभौमसत्ता माथि प्रहार भएको हामीले ठानेका छौं,’ नेता नेपालले भने ।