ओली प्रचण्डबीच गोप्य सहमति
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहल (प्रचण्ड) बीच गोप्य सहमति भएको छ । ओली प्रचण्डबीच स्थायी समिति बैठक तत्काल राख्ने र बैठकमा उठेका प्रश्नहरुको जवाफ प्रचण्ड दिने गरी सहमति भएको हो ।
सत्तारुढ नेकपाको स्थायी कमिटी बैठक भोलि बस्दैछ । बैठक भोली नै सक्नेगरी कार्यसूची बनाइएको छ । भोलि ११ बजे बैठक बोलाइएको भन्दै पार्टी कार्यालयबाट स्थायी कमिटी सदस्यहरुलाई एसमएमएस र टेलिफोन आएको छ । २५ गते बोलाइएको बैठक विविध कारणले स्थगित भएको थियो ।
स्रोतकाअनुसार दुई अध्यक्षबीच टेलफोनमा कुराकानी हुनुका साथै अध्यक्ष प्रचण्ड र महासचिव विष्णु पौडेलबीच भेटवार्ता भएपछि स्थायी कमिटी बैठक बोलाइएको हो ।
बैठक टार्दै आएका ओली के सहमतिका आधारमा बैठक राख्न सहमत भए ? नेकपा नेताहरुको चासो छ । एक सचिवालय सदस्य भन्छन्, ‘स्थायी कमिटी बैठक राखेर दुई अध्यक्षले सम्बोधन गरौं र भोलि नै बैठक सकौं । तपाईलाई कुनै अप्ठ्यारो हुँदैन, म जिम्मा लिन्छु भनेर अध्यक्ष प्रचण्डले भन्नु भएको छ ।’
त्यसअनुसार भोलिको बैठकमा सरकारको नीति तथा कार्यक्रमबारे सुझाव दिने र लिपुलेकमा भारतले बनाएको सडकबारे छलफल गर्ने एजेण्डा मात्र राखिएको छ ।