भारतले लिपुलेकमा बाटो बनाएको मलाई थाहा थिएन : प्रधानमन्त्री ओली
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली ओलीले लिपुलेकमा भारतले बाटो बनाएको बारे आफूलाई जानकारी नभएको बताएका छन । आज बसेको मन्त्रीपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले नेपाली भूमि अतिक्रमण गरेर सडक बनाएको सूचना कसैले पनि आफूलाई नगरेको बताएका हुन ।
परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली स्वयंले संसदमा उभिएर भारतले बनाएको सडकबारे सरकारलाई जानकारी भएको बताइरहँदा प्रधानमन्त्री ओलीले भने यसबारे आफूलाई कसैले रिर्पोटिङ नै नगरेको गुनासो मन्त्रिपरिषद् बैठकमा गरेका छन् ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले लिपुलेक विवादबारे ब्रिफिङ गरेका थिए । यसबारे संसद र संसदीय समितिहरूमा भएको छलफलदेखि दलहरूले लिएको अडानबारे जानकारी गराएका थिए ।
लगतै प्रधानमन्त्री ओली झण्डै आधा घण्टा यसबारे बोलेको एक मन्त्रीले जानकारी लिए । उनले सुगौली सन्धिअनुसार काली नदी पूर्वको भूभाग नेपालको भएको बताए ।
‘सीडीओले रिर्पोटिङ गरेका थिए, के थिए भन्ने पत्रपत्रिकामा पढेँ । तर, भारतले सडक खन्दैछ भन्ने मलाई कसैले रिपोर्टिङ गरेनन्’ उनले भने ।
सीमा समस्या समाधानका लागि सरकारले पटकपटक कुरा उठाउँदै आएको भएपनि भारतको नियत ठिक नभएको उनले भनाई छ । ‘हिजो मात्र भारतका लागि नेपाली राजदूतले (महाराष्ट्रका गभर्नर) भगतसिंह कोसियारीसँग कुरा गर्नु भएको थियो । उहाँले नमिल्ने कुराकानी गर्नुभएछ’ प्रधानमन्त्री ओलीले भनेका छन् ।
काली नदी पूर्वको भूभाग नेपालको हो भन्नेमा प्रष्ट अडान रहेको र त्यसअनुसार भारतसँग वार्ता गर्ने प्रधानमन्त्री ओलीले बताएको एक मन्त्रीले जानकारी दिए ।