लकडाउनमा लिएका सबै पासहरु रद्ध
काठमाडौं – सरकारले सवारीसाधन चलाउनका लागि यसअघि जारी भएका सबै पास रद्द गरेको छ । शनिबारदेखि लागु हुने गरी सबै पासहरु रद्द गरिएको गृह मन्त्रालयले जनाएको छ ।
जेठ ३ गतेदेखि लागू हुने गरी यसअघि जारी भएका सबै पासहरु रद्द गरिएको गृह मन्त्रालयका सचिव महेश्वर न्यौपानेले बताए । उनका अनुसार अब पास बाहकले जिल्लाभित्रै पनि सो पास प्रयोग गर्न पाउँने छैनन् ।
कारोनाभाइरसको संक्रमण बढेसँगै गृहमन्त्रालयले लकडाउनलाई थप कडाइ गर्ने नीति अनुरुप सो निर्णय गरेको हो । यो निर्णय देशभर नै लागू गर्नेगरी गृहले सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई सर्कुलर गरिसकेको छ।
पछिल्लो समय पासको दुरुपयोग गर्दै मानिसहरुको अनावश्यक रुपमा आउजाउ हुने र भिडभाड हुने गरेको गुनासो बढेका थिए । यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले समेत नाकामा कडाइ गर्नुका साथै लकडाउन खुकुलो नबनाउन यसअघिको मन्त्रिपरिषद् बैठकमा निर्देशन दिएका थिए ।
प्रधानमन्त्रीको निर्देशनसँगै बिहीबारदेखि लागू हुनेगरी एक जिल्लाबाट अर्को जिल्लामा जान नपाउने निर्णय गर्दै गृहले पास रद्द गरेको थियो ।