लिपुलेकबारे भारतले लगायो चीनमाथि गम्भिर आरोप, चीनले एक्सन लिन सक्ने

शुक्रबार, २ जेष्ठ २०७७

काठमाडौं – भारतले नेपालको भुमि लिपुलेकमा सडक बनाएको विषयमा भएको विरोध कसैको इसारामा भएको जनाएको छ । भारतका प्रधानसेनापति मनोज मुकुन्द नरवानेले कालापानी क्षेत्रमा भारतले बनाएको सडकबारे नेपालले जनाएको आपत्ति अरु कसैको निर्देशनमा भएको आरोप लगाएका छन्।

भारतीय रक्षा मन्त्रालयअन्तर्गतको थिंक ट्यांक द मनोहर पर्रिकार इन्स्टिच्युट अफ डिफेन्स स्टडिज एन्ड एनालाइसिस (आइडिएसए) ले गरेको एक कार्यक्रममा बोल्दै प्रधानसेनापति नरवानेले कालापानी क्षेत्रमा नेपाली पक्षले आपत्ति जनाउनु पर्ने कुनै कारण नभएको दाबी गर्दै नाम नलिइकन नेपालले चीनको निर्देशनमा विरोध गरेको जिकिर गरेका हुन्।

‘यसमा मैले कुनै विरोधाभाष देखेको छैन। नेपाली राजदूतले भनेका छन् कालापानीपूर्वको भू–भाग नेपालको हो, रोड नदीभन्दा पश्चिम छ,’ उनले भनेका छन्,‘त्यही भएर नेपालीहरू केका लागि विरोध गरिरहेका मैले बुझ्न सकेको छैन।’

उनले त्रिपक्षीय जक्सन (नेपाल, भारत र चीनको) कहाँ हुनुपर्छ भन्ने मुद्दा बाँकी रहेको उनको भनाइ छ। ‘त्यसैले नेपालले अरू कसैको निर्देशनमा यो मुद्दा उठाएको हुन सक्छ,’ उनले भनेका छन्।

भारतका रक्षा मन्त्री राजनाथ सिंहले गत साता धार्चुलाबाट मानसरोवर जोड्ने सडकको ट्र्याकको उद्घाटन गरेका थिए। नेपाली भूमिमा भारतले एक पक्षीय रूपमा सडक बनाएको भन्दै नेपालले कडा आपत्ति जनाएको छ।