नयाँ ठाउँमा पनि भेटियो कोरोना, थप ९ जनामा संक्रमण पुष्टि
काठमाडौं – नयाँ ठाउँमा पनि कोरोना संक्रमण भेटिएको छ । दाङमा आज ३ जनामा कोरोना संक्रमण भेटिएको हो ।
उनीहरु सँगै नेपालमा थप ९ जनाको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार काठमाडौं सतुंगलका ७ वर्षीय बालकको रिपोर्ट पोजेटिभ आएको छ । यस्तै वीरगञ्का ९ र १० वर्षीय बालक तथा २३ र ४७ वर्षीया महिलामा कोरोना संक्रमणको पुष्टि भएको छ ।
यसैगरी दाङको गढवा ४ र ५ तथा तुलसीपुर ७ का २३, ३४ र ३६ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको छ । दाङमा पहिलो पटक संक्रमित भेटिएका हुन् ।
यस्तै उदयपुर त्रियुगा नागरपालिकाका २५ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण देखिएको छ । यससँगै नेपालमा कुल संक्रमितको संख्या २६७ पुगेको छ ।
