सर्लाहीबाट काठमाडौं आएकी महिलामा कोरोना संक्रमण पुष्टि

आइतबार, ४ जेष्ठ २०७७

काठमाडौं – सर्लाहीबाट काठमाडौं आएकी एक महिलामा कोरोना भाइरस पोजेटिभ देखिएको छ । काठमाडौंको बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १२ कपनमा बस्ने युवतीमा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको हो ।

ती युवती कपनस्थित एक फर्निचर उद्योगमा काम गर्ने गरेको पाइएको छ । ती युवतीसहित तीन जना केही दिनअघि सर्लाहीबाट काठमाडौं आएका थिए।

‘उनीहरू लुकिछिपी मोटरसाइकलबाट सर्लाहीदेखि काठमाडौं आएका रहेछन्,’ बुढानिलकण्ठ नगरपालिकाका मेयर उद्धवप्रसाद खरेलले भने भने, ‘स्थानीय बासिन्दाले लकडाउनका बेला किन आएको भनेर हल्लाखल्ला गरे। परीक्षण गर्न माग गरेपछि परीक्षण गरियो।’

स्थानीय बासिन्दाले ती मानिसको परीक्षण गर्न माग गरेपछि प्रहरीले उनीहरूलाई परीक्षणका लागि लगेको थियो। ‘पहिले आरडिटी परीक्षण गरेको त्यसमा नेगेटिभ देखायो। पछि पिसिआर गर्दा एक १९ वर्षीया युवतीमा पोजेटिभ देखियो,’ मेयर खरेलले भने।