प्रचण्डको कविता : शून्य मस्तिष्क

मंगलबार, ६ जेष्ठ २०७७

एक शून्य मस्तिष्क खाली कोठा

कुनै बुट्टाहरु छैनन्
कुनै रङ्ग छैन
कुनै सपना छैन
कुनै इच्छा, चाहना, रहर छैनन्
बन्द कोठामा

बिहान सूर्य छिर्न मान्दैन ढोकाबाट
चढ्न मान्दैन सपना भर्याङबाट
ओर्लन मान्दैन ओछ्यानबाट निन्द्रा
अनि झ्यालबाट देखिँदैन कुनै फुलेको फूलहरु
रित्तिएको कोठा र शून्य मस्तिष्कमा
आफूले आफैँलाई चिमोट्छु दुख्ने गरी
बिउँझेको बहाना गर्दै निस्किन्छु
कौसिमा देखिन्छ केही फुलेका फूलहरु
चलाउन मन लाग्दैन भर्खर फुल्न शुरु गरेका कोपिलाहरुलाई
फर्कन्छु आफ्नै रित्तो कोठामा शून्य मस्तिष्क लिएर

चोक गली सडक भएर निस्कने सपनाहरु
खै कुन बिन्दुमा रोकिएका छन्
यावत् प्रश्नले बन्द कोठामा कैद गरिरहेका छ्न्
खरानी भएका इच्छा, चाहना, सपना र रहरहरुलाई
किन चिहाई चिहाई फर्केर हेर्छन् मान्छेहरु
जिउँदो लासलाई गिज्याई रहेछ्न्
एक बन्द कोठा र रित्तो मस्तिष्कले
गिज्याई रहेछ्न् एक जिउँदो लासलाई

बन्द कोठाको यावत् प्रश्नहरुलाई
चुरोटको धुवाँसँगै उडाउन खोज्छु
तर आफू आफैं धुवाँले निस्सासिन्छु बन्द कोठामा
आफू आफैं धुवाँले निस्सासिन्छु बन्द कोठामा !