कहिले हुन्छ विदेशमा रहेको नेपालीको उद्धार ?

बुधबार, ७ जेष्ठ २०७७

काठमाडौं – विदेशमा रहेका नेपालीहरुको उद्धारबारे सरकार छलफलकै चरणमा रहेको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित कोरोना भाइरस नियन्त्रण उच्चस्तरीय समितिमा त्यसबारे छलफल जारी रहेको बताइएको छ ।

विदेशबाट नेपालीको उद्धार गर्नेबारे कार्ययोजना बनाउन समितिभित्र छुट्टै समिति बनेको जानकारी दिँदै समितिका सदस्य तथा प्रधानमन्त्री कार्यालयका सचिव नारायणप्रसाद बिडारीले भने, ‘उनीहरुलाई ल्याउन कार्ययोजना बनेको छ र त्यसमा छलफल भइरहेको छ। सातै प्रदेशका कोरोना फोकल पर्सनले सुझावहरु राख्नुभएको छ। प्राथमिकताका आधारमा व्यवस्थित रुपमा क्रमशः लिएर आउने हो। यहाँ संक्रमण फैलिन पनि दिनु भएन।’

भारत तथा तेस्रो देशमा काम, अध्ययन, स्वास्थ्योपचार तथा निजी–पारिवारिक भेटघाटका लागि गएका, कूटनीतिक नियोगमा काम गरिरहेका, बिरामी परेका, गर्भवती, नेपालमा आफन्तको मृत्यु भएर आउनैपर्ने अवस्था भएकाहरु सबैको प्राथमिकता अनुसार उद्धार गरिने सचिव बिडारीले बताए।

अवको केही दिनमै यसबारे निर्णयमा पुगेर उद्धारको काम थाल्ने विडारीको भनाई छ ।