तरकारीको गाडीमा लुकिछिपी आएका एक जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं – मकवानपुरका कोरोना संक्रमित भनिएका व्यक्ति थाहा नगरपालिका वडा नम्बर ११ टिष्टुङ देउरालीका भएको पुष्टि भएको छ । उनी काठमाडौंको बाफलमा बस्दै आएको बुझिएको छ ।
काठमाडौंमा मार्बल ढुवानी गर्ने सवारी चालक पेशामा रहेका संक्रमित पुरुष लकडाउन शुरु भएलगत्तै ११ चैतमा घर फर्केका थिए । उनी २७ वैशाखमा पुनः काठमाडौं आएका थिए ।
उनी स्थानीय तरकारी ढुवानी गर्ने गाडीमा काठमाडौं आएका उनीमा कोरोना संक्रमण पुष्टि भएको हो । उनी थाहा–११ कै स्थानीय चालकले चलाएको तरकारी गाडीमा काठमाडौं प्रवेश गरेका थिए ।
संक्रमित पुरुषको गाउँमा सानो पसल पनि छ । पसलमा श्रीमती बस्थिन् । पसल सडक छेवैमा छ । देउराली क्यान्टिन डाँडामा पातलो बस्ती भए पनि परिवारका लागि थोरै आम्दानीको स्रोत त्यही पसलको भरथेग हो । त्रिभुवन राजपथसँगै जोडिएको शाखा सडकमा किराना पसल छ ।
ती संक्रमितको घरमा रहेका दुई बालिका र एक महिलालाई पीसीआर परीक्षणका लागि राति नै हेटौंडा पठाइएको डाक्टर उदय रोकाले जानकारी दिए ।