कोरोना संक्रमितको उपचार गर्न छोडेर सामूहिक राजीनामा दिदै नर्सहरु

बुधबार, ७ जेष्ठ २०७७

एजेन्सी – पश्चिम बंगालका निजी अस्पतालमा काम गर्ने नर्सहरु सामूहिक राजीनामा दिएर पलायन हुन थालेका छन । बाहिरी राज्यका उनीहरु समूहिक रुपमा पलायन हुने खवरले त्यस क्षेत्रमा नयाँ र गम्भीर खतरा पैदा भएको छ ।

पश्चिम बंगाल कोरोना संकटभन्दा पहिलेदेखि नै आधारभूत स्वास्थ्य ढाँचाको कमीसँग जुझिरहेकाले नर्सहरुको पलायनले थप समस्या निम्तिएको छ । अर्कोतिर कोरोना महामारी नियन्त्रणका लागि ममता बनर्जी सरकारको तरिकालाई लिएर आलोचना भइरहेको छ ।

सरकारले कोलकाताका विभिन्न निजी अस्पताललाई पत्र लेखेर काम छाडेर जाने नर्सहरुको विवरण र पलायतपछिको अवस्थाबारे रिपोर्ट माग गरेको छ । पछिल्ला केही दिनमा मात्रै मणिपुर, मिजोरम, त्रिपुरा र उडिसा राज्यका ६ सयभन्दा बढी नर्स काम छाडेर आफ्नो गृहराज्य फर्किएका छन् ।

नर्सको सामूहिक पलायनको क्रम बढेको छ । राज्य सरकारले कोरोना संक्रमितका लागि कोलकाताका जुन ६८ वटा अस्पताल तयार गरेको थियो, त्यसमध्ये ५२ वटा निजी क्षेत्रका छन् ।

बाहिरी राज्यका नर्स काम छाडेर गएपछि बढ्दो संकटबाट भएको समस्याका बारेमा निजी अस्पतालको संगठन एशोसिएसन अफ हस्पिटल्स अफ इस्टर्न इन्डिया (एएचईआई) ले मुख्यमन्त्री ममता बनर्जीलाई एक पत्र लेखेर यस विषयमा हस्तक्षेप गर्न आग्रह गरेको छ ।

सो संगठनले गृहराज्यमा राम्रो अफर पाएका कारण नै नर्सहरु पलायन भएको बताएको छ । यसअघि मणिपुरका मुख्यमन्त्री एन बीरेन सिंहले राज्यका नर्सलाई तत्काल फर्किनका लागि एडभाइजरी जारी गरेका थिए ।

यसको कारण भनेको मणिपुरका ३ सयभन्दा बढी नर्सको फिर्तिका लागि सरकारले बस र यात्राका लागि आवश्यक कागजात समेत तयार गरेको थियो ।

तर बीरेन सिंहले यो आरोप निराधार रहेको बताए । उनले सरकारले यस्तो कुनै एडभाइजरी जारी नगरेको दाबी गरेका छन् । उनले नर्सहरुले फर्किन चाहेका कारण सरकारले व्यवस्था गरेको उनको दाबी थियो ।

रोजीरोटीका लागि आफ्नो घरबाट हजारौं किलोमिटर टाढा आएर वर्षौदेखि काम गरिरहेका केहिले जागिर र तलवको अनिश्चितताका साथै सामाजिक विभेदका कारण फर्किन बाध्य भएको बताएका छन् । पूर्वोत्तरमा रहने यी नर्सलाई उनीहरुको घर आसपासका मानिसहरुले बोलाउन थालेका थिए ।

नर्सको सामूहिक पलायनका कारण खासगरी कोलकाताका निजी अस्पतालमा स्वास्थ्यकर्मीको ठूलो अभाव भएको छ । यी अस्पतालमा औसतमा ७० प्रतिशत पूर्वराज्यका नर्सहरु रहेका छन् ।

नर्सहरुको पलायतको सिलसिला जारी रहँदा निजी स्वास्थ्य क्षेत्रको आधारभूत ढाँचा नै ठप्प हुने खतरा बढेको छ । कतिपय नर्स राजीनामा दिएर र कतिपय राजीनामा समेत नदिई गृहराज्य फर्किन थालेका हुन् ।