गुल्मीका कोरोना संक्रमितका आफन्तको बयान, ‘अस्पतालले उपचारै गरेन, सबमाथि व्यापार गर्यो’
काठमाडौं – गुल्मीका कोरोना संक्रमित शिक्षाको मृत्यु भएको पुष्टि भएको छ । उनको विहिबार विहान मृत्यु भएको प्रदेश ५ को सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले उनको मृत्यु भएको बताएका छन । गुल्मीको मदाने गाउँपालिका वडा नम्बर ६ का ४१ वर्षीय पुरुषलाई जेठ ५ गते कोरोना संक्रमण पुष्टि भइको थियो ।
आफन्तको वयान
कोरोनाबाट बिहीबार रुपन्देहीको क्रिमसन अस्पतालमा मृत्यु भएका शिक्षकका आफन्त (सालो) विष्णु ओलीले अस्पतालले भिनाजुको उपचारमा लापर्वाही गरेको बताएका छन । अस्पताल पुर्याउँदा भिनाजुको अवस्था सामान्य भएको भन्दै ओलीले कोरोना संक्रमण पुष्टि भएपछि उपचार नगरेको बताएका छन ।
अस्पतालले उपचारमा ध्यान नदिदा भिनाजु गुमाउनु परेको भन्दै उनले भने, ‘जेठ ५ गते उहाँमा कोरोना संक्रमण भएको पुष्टि भनिएको दिनदेखि उहाँमाथि अमानवीय व्यवहार भयो । त्यस दिनदेखि उहाँलाई राखिएको कोठा बन्द गरियो, कोही पसेनन् । भिनाजुको अकालमै मृत्यु भयो ।
उनले बुधबार मिडियामा उहाँको बारेमा विभिन्न खबर आएपछि मात्र थोरै भएपनि भिनाजुले उपचार पाएको आफूले महशुस गरेको बताए । ‘हिजो बिहान उहाँको बारे समाचार आएपछि जिवितै छन् भनेर हामीलाई देखाउन बोलाइयो’, उनले भने, ‘भित्र पस्नका लागि तीन वटा गेट छन् । पिपीपीई लगाएका डाक्टरहरु तेस्रो गेटमा आएर देखाए । उहाँको सास छ मृत्यु भएको छैन भने । फेरि आज बिहान पौने सात बजे बोलएर मृत्यु भएको कुरा सुनाएका हुन् ।’
अहिले उनीसहित छिमेकी खिम बहादुर कुँवर र मृतकका भाइसहित ३ जना कुरुवालाई अस्पताल कै क्वारेन्टाइनमा राखिएको छ। उनका अनुसार अस्पतालको आईसीयुमा राखिएपनि कोठाको झ्याल खुल्लै राखिएकाले हेर्न सकिन्थ्यो भने हेर्दा कुनै औषधि चढाइएको देखिँदैनथ्यो । ‘हामी क्वारेन्टाइनमा रहे पनि उहाँलाई राखिएको कोठाको झ्याल खुल्ला थियो । हामी हेर्न गैरहन्थ्यौं । झ्यालबाट हेर्दा उहाँलाई चढाउनु पर्ने औषधि चढाइएको थिएन, त्यतिकै थियो’, ओलीले भने, ‘भेन्टिलेटरमा दिनको ५५ सय लाग्छ भन्दै थिए, हिसाबकिताब चाहिँ भएको छैन ।’
हिजोसम्म मृत्यु नभएको र आफूले देखेको कुरा बताउँदै उनले विभिन्न समाचार आएपछि अस्पतालमा खैलाबैला मच्चिई आफूहरुलाई देखाउनका लागि उपचार गरेजस्तो गरेको दुःखेसो पोखे । ‘५ गतेदेखि हिजोसम्म कोही भित्र छिरेनन् , थुनेरै मारेजस्तो महसुस गरेका छौँ, उनले भावुक हुँदै भने ।
भेन्टिलेटरमा राख्नुअघि सो अस्पतालमा करिव डेढ लाख खर्च भएको उनको भनाइ छ । बुटवलमै बस्ने मदाने गाउँपालिका निवासी गुनाराम घिमिरेले पनि उपचारमा लापरबाही भएको आफूले सुनेको बताए। त्यस गाउँपालिकाका प्रमुख प्रशसकीय अधिकृत सुरेश भण्डारीले पनि कुरुवाहरुबाट त्यस्तै गुनासो आएको बताए ।
यता क्रिमसन अस्पतालका अध्यक्ष चिन्तामणि पाण्डेले भने आफूहरुमाथि लागेको आरोपको खण्डन गर्दै अस्पतालले बिरामीलाई बचाउन सक्दो प्रयास गरेपनि नसकेको बताए ।
‘उहाँलाई बचाउन पाए अस्पतालको इज्जत र गौरव बढ्छ भन्ने लागेको थियो तर बचाउन सकिएन’, उनले भने, ‘कतिपय मिडियाले पैसाको बार्गेनिङका लागि मरेको मान्छेलाई पनि नमरेको भन्यो भनेर लेखे तर होइन । अहिले पनि हामी पैसाको छुचो कुरा गर्दैनौं ।’
वैशाख अन्तिम सातादेखि ज्वरो,रुघाखोकी तथा जन्डिस देखिएपछि क्रिमसन अस्पतालमा भर्ना भएका ४१ वर्षीय मृतकमा गत सोमबार कोरोना संक्रमण पुष्टि भएको थियो ।
सुरुमा ज्वरो र रुघाखोकीको लक्षण देखिएपछि संक्रमितले स्थानीय स्वास्थ्य चौकीमा परीक्षण गरी टाइफाइडको औषधि खाएका थिए। यद्यपी निको नभएपछि पुनः परीक्षण गर्दा उनमा जन्डिस र मिर्गौला समस्या देखिएको भन्दै बुटवल पठाइएको थियो।
गाउँबाट एक जना आफन्तसँग मोटरसाइकलमा अर्घाखाँचीको सन्धिखर्कसम्म पुगेका उनलाई त्यहाँबाट एम्बुलेन्स मार्फत क्रिमसन अस्पताल पठाइएको थियो।
जेठ १ गतेदेखि अस्पतालको आइसियुमा राखी उपचार थालिएको उनमा कोरोना संक्रमण पुष्टि हुनुअघि राम्रै उपचार भएपनि पुष्टि भएपछि भने उपचार नपाएको आफन्तको दावी छ ।