कान्तिपुर मिडिया ग्रुपद्वारा पत्रकारको तलब ब्यापक कटौती, महासंघलाई समेत टेरेन
काठमाडौं – कान्तिपुर मिडिया ग्रुपले आफ्ना पत्रकार, कर्मचारीको तलब, सुविधामा ब्यापक कटौती गरेको छ । ग्रुपमा अन्तरगतका विभिन्न संचार माध्यममा कार्यरत पत्रकार तथा कर्मचारीको ६० प्रतिशत भन्दा बढि तलव कटौती गरेको छ ।
तलब नकाट्ने, बेतलबीमा नराखिने भनी नेपाल पत्रकार महासंघलाई दिएको लिखित प्रतिबद्धतालाई कान्तिपुर पब्लिकेशन्स् प्रालीले उल्लंघन गरेको छ । उसले आफ्ना कर्मचारी, पत्रकारको मासिक तलब, सुविधालाई ६० प्रतिशत भन्दा बढी नै कटौती गरी खातामा पठाएको छ ।
गत वैशाख १२ गते महासंघमा गरेको लिखित प्रतिवद्धता र त्यसैका आधारमा महासंघले जारी गरेको विज्ञप्तिपछि ढुक्क भई काममा जुटेका पत्रकार, कर्मचारी तलब काटेपछि निरास् बनेका छन् ।
‘अधिकांशको खातामा सरकारले तोकेको न्यूनतम पारिश्रमिक समेत जम्मा भएको छैन । १२ हजारदेखि १८ हजारको बीचमा तलब पठाइएको रहेछ’, एक जना पत्रकारले भने ।
यो निर्णयले थोरै पारिश्रमिक भएका काठमाडौं र बाहिर रहेर काम गर्ने पत्रकार बढी मर्कामा परेका छन् । सरकारले पत्रकारको न्यूनतम तलब २४ हजार रुपैया तोकेपनि ठूलो प्रकासन गृह कान्तिपुरले त्यति रकम दिएको छैन । तर, अन्य शिर्षकमा थपेर सुविधा दिँदै आएको थियो ।
वैशाखको पहिलो साता कान्तिपुरले २ सयभन्दा बढी कर्मचारी, पत्रकारलाई बेतलबीमा बस्न मौखिक जानकारी गराएको थियो । त्यसबारे मिडियामा सार्वजनिक भएपछि पत्रकार महासंघ, न्यूनतम पारिश्रमिक निर्धारण समिति र कर्मचारी यूनियनहरुले चर्को विरोध गरेका थिए ।
यो विषयमा पत्रकार महासंघले गम्भिर आपत्ति जनाएको छ । साथै कान्तिपुरसँग वार्ताको प्रयास पनि भइरहेको पत्रकार महासंघका केन्द्रीय सदस्य जन्मदेव जैशीले बताए ।
उनले भने, ‘अनौपचारिक छलफल भइरहेको छ । लिखित प्रतिवद्धता उल्लंघन भएको हामीलाई पत्रकारहरुले जानकारी गराउनुभएको छ । यो विषयमा महासंघले चाँडै खोजखबर गरी आवश्यक निर्णय गर्नेछ ।’