काठमाडौंमा २९ जना कोरोना संक्रमित, को कहाँ ? हेर्नुहोस् विवरण
काठमाडौं – काठमाडौंमा २९ जना कोरोना भाइरस (कोभिड १९) का विरामीहरुको उपचार भइरहेको पाइएको छ ।
ललितपुरको पाटन अस्पतालमा ११ जना, बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा १५ जना, टेकु अस्पतालमा १ जना, त्रिवि शिक्षण अस्पतालमा १ जना र ग्राण्डी अस्पतालमा १ जना संक्रमित उपचाररत रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका सहप्रवक्ता डा. समीर अधिकारीका अनुसार उपत्यकामा उपचार गराउने धेरैजसो उपत्यका बाहिर स्थायी ठेगाना भइ काठमाडौंमा बस्नेहरु रहेका छन । उनीहरु धादिङ, रामेछाप, कविलबस्तु, दाङ, मकवानपुर लगायतका जिल्लाहरुका रहेको उनको भनाई छ ।
काठमाडौंका आसपासका जिल्लामा कोरोनाको उपचार गराउने अस्पताल काठमाडौंमा मात्र भएकाले पनि बिरामी काठमाडौं आउने गरेको सहप्रवक्ता डा. अधिकारीले बताए ।
उपत्यकाभित्र मैतीदेवीकी १ जना र सनसिटी अपार्टमेन्टका २ जनाबाहेक अन्य सबै उपत्यका बाहिर स्थायी ठेगाना भएका कोरोना संक्रमित बिरामी छन् ।
शिक्षण अस्पतालमा कपिलवस्तुकी ६ वर्षीया बालिका पनि उपत्यका बाहिरबाट काठमाडौं आएकी हुन् । बुधवार कालिमाटी महानगरीय प्रहरी वृत्तका २ जनामा कोरोनाको पुष्टि भएका प्रहरी कर्मचारीको स्थायी ठेगाना पनि उपत्यका बाहिर नै रहेको मन्त्रालयले जनाएको छ ।
देशभर ५८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ७० जना निको भएर घर फर्किसकेका छन । उनीहरुमध्य ३ जनाको मृत्यु भएको छ ।