पूर्वयुवराज पारसको गाडी दुर्घटना
पोखरा – पूर्वयुवराज पारस शाहको गाडी दुर्घटनामा परेको छ । शुक्रबार राति करिब साढे २ बजेको पोखराको पृथ्वीचोकमा उनको गाडीले गोरुलाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।
उनको गाडी ठक्कर दिएको गोरु घठना स्थानमै मरेको जिल्ला प्रहरी कार्यालय कास्की प्रमुख एसपी दानबहादुर कार्कीले बताए । पूर्वयुवराज शाह चढेको बा १४ च २१३१ नम्बरको गाडीले मध्यरातमा गोरुलाई ठक्कर दिएको थियो । गाडी भने पारस आफैंले नचलाएको एसपी कार्कीको भनाई छ ।
दुर्घटना भएको गाडीमा ३ जना सवार थिए । मध्यरातमा पूर्वयुवराज पारसको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल लैजाँदै गर्दा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
‘आफ्नो ड्राइभर नभएर अर्कै ड्राइभर लिएर अस्पताल जाँदै रहेछन् । निजी नभई अर्कै ड्राइभरले दुर्घटना गराएको रहेछ,’ एसपी कार्कीले भने । उनलाई छात्तीमा समस्या आएपछि मध्यरातमा गण्डकी अस्पताल लैजाँदै गर्दा दुर्घटना भएको उनले जानकारी दिए ।
दुर्घटनापछि चालक अशोक गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको छ । एसपी कार्कीले भने, ‘माद पदार्थ सेवन थिएन । चालकलाई हामीले नियन्त्रणमा लिइसकेका छौं । अब आवश्यक कारबाही अघि बढाउँछौं ।’
पूर्व युवराज पारस लकडाउनको समयमा आफ्ना सहयोगीहरुसँग करिब ९ महिनादेखि पोखराको लेकसाइडमा बस्दै आएका छन् । केही दिनअघि उनले पोखराका जलारी समुदायलाई राहत वितरणसमेत गरेका थिए ।