थप १० जना कोरोना संक्रमित निको भएर घर फर्किए
रुपन्देही – कपिलवस्तुका १० जना कोरोना सङ्क्रमित उपचारपछि निको भएर घर फर्किएका छन्।
बुटवलको कोरोना विशेष अस्पतालबाट १० जना सङ्क्रमित निको भएर शनिबार घर फर्किएका हुन् । दुई साताअघि अस्पताल भर्ना भएका सङ्क्रमितको लगातार दुई पटकको रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको बुटवल धागो कारखानामा रहेको कोरोना विशेष अस्पतालले जनाएको छ ।
निको भएर जानेहरुले ‘कोरोनाबाट डराउनुपर्दैन, सजिलै जित्न सकिन्छ’ भन्ने सन्देश पनि दिएको अस्तालका फोकल पसर्न डा. सुदर्शन थापाले जानकारी दिए ।
यसअघि त्यसै अस्पतालबाट रुपन्देहीको कोटहीमाईका २५ वर्षीय युवक पनि निको भएर घर फर्किएका थिए । धागो कारखानाको कोरोना अस्पतालमा रुपन्देही र कपिलवस्तुका ३६ जनाको उपचार भइरहेको छ ।
यसअघि शनिबार वेलुका वीरगन्जका ९ जना संक्रमित निको भएका थिए । यो सँगै नेपालमा कोरोना निको हुनेको संख्या ८९ पुगेको छ ।