कैलालीको बाह्रवन टेण्डर काण्ड ‘कालेकाले मिलेर खाउँ भाले’

सोमबार, १२ जेष्ठ २०७७

धनगढी – कैलालीको बाह्रवन साझेदारी वन व्यवस्थाप समूहले काठ व्यवसायीको प्रत्यक्ष निगरानीमा टेण्डर गरेको छ । काठ व्यवसायीको प्रत्यक्ष निगरानीमा टेण्डर गरेपछि चर्को विवाद सुरु भएको छ । चालु आर्थिक वर्षमा सो साझेदारी वन व्यवस्थापन समूहले ढलापडा र बैज्ञानिक वनबाट एक लाख ४० हजार क्वीफिट काठ संकलनका लागि गत बैशाख ३ गते टेण्डर आब्हान गरेको थियो ।

काठ संकलनका लागि गरिएको टेण्डर कैलालीका केही काठ व्यवसायीले आफ्नै काठमाण्डौबाट प्रकाशित हुने एक दैनिक पत्रिकामा सूचना प्रकाशित गरेका थिए । कोरोनाका कारण बन्द भएको उक्त पत्रकालाई ठेकेदारले मोटो रकम दिएर सूचना प्रकाशन गर्न लगाएको आरोप लागेको छ । काठ संकलनको टेण्डर हत्याउनका लागि केही ठेकेदार मिलेर साझेदारी वनका अध्यक्षलाई गुम्राहामा राखी सो सूचना गोप्य रुपमा निकालिएको बुझिएको छ । हाल त्यही विषयलाई लिएर ठेकेदारबीच तनाब उत्पन्न हुँदा कागजात डिभिजन वन कार्यालय कैलालीमा आइपुगेको छैन् ।

२२ वटा फर्मले टेण्डर दर्ता गरेकोमा काठ संकलनको जिम्मा ८ वटाले मात्र पाएको साझेदारी वन व्यवस्थापन समितिका अध्यक्ष ठक्करविक्रम शाहीले बताए । शुक्रबार हालेको टेण्डर आइतबार खोल्नुपर्नेमा केही ठेकेदारले टेण्डर हत्याउन बुधबार खोल्न लगाएको जनाइएको छ । काठ संकलनका लागि प्रति क्वीफिट रु. ९९ अधिकतम मूल्य रहेकोमा अहिले रु. एक सय ४० कायम गरी टेण्डर भएको छ । अहिले टेण्डरको विषयलाई लिएर विवाद आएपछि टेण्डरमा भाग लिएका व्यक्तिलाई थमथम्याउन मिलेर काम गर्ने प्रस्ताब आउन थालेको जनाइएको छ । संकलनको काम पाएका ठेकेदारका कारणले नै साझेदारी वन धरापमा पर्न थालेको स्थानीयको आरोप छ ।

गत वर्ष आर्थिक अनियमितताको आरोप लगाइएपछि सो साझेदारी वन व्यवस्थापन समितिले काठ संकलन गर्न पाएको थिएन् । यो वर्ष पनि समितिले कटान, मुछान गर्न पाएन भने साझेदारी वन व्यवस्थापन खारेजीतर्फ जाने वन विज्ञ रमेशचन्द ठकुरीले बताए । उनले भने कैलालीको साझेदारी वन नेपाल कै नमूना वन भएकोले यसको अवधारणानुसार काम गर्न सकिएन भने अस्तित्व मेटिएर जाने बताए ।