४ दिनको शिशुको हत्या गरेर फाल्ने आमा पक्राउ
काठमाडौँ – एक आमाले आफ्नै नवजात शिशुको हत्या गरेको खुलेको छ । भक्तपुरको सूर्यविनायक नगरपालिकामा नवजात शिशुको शव फेला परेपछि यस्तो तथ्य बाहिर आएको हो ।
उदयपुरको उदयपुर गढी गाउँपालिका–१ घर भई सूर्यविनायक–५ घलाँते बस्ने २२ वर्षीया रमिला राईले शिशुको हत्या गरेकी हुन् । प्रहरीले सोमबार शिशुको मुखमा कपडा कोचिएको र सालनालसमेत नछुट्टिएको अवस्थामा शव फेला पारेको थियो ।
अनुसन्धान गर्दै जाँदा आमाले नै शिशुको मुखमा कपडा कोचेर हत्या गरेको खुलेको महानगरीय प्रहरी वृत्त जगातीका प्रमुख डीएसपी चक्रराज जोशीले बताए ।
प्रहरीले रमिलालाई नियन्त्रणमा लिएको छ । २१ महिने छोरीसमेत रहेकी उनले ४ दिनअघि शिशु जन्माएको र हत्या गरी फालेको स्वीकार गरेकी छन् ।
पतिपत्नीको सम्बन्ध राम्रो नभएपछि नियोजित रूपमै शिशुको हत्या गरेर फालेको अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ । शव पोस्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगन्ज पठाइएको छ । प्रहरीले रमिलाविरुद्ध कर्तव्य ज्यान मुद्दामा कारबाही अघि बढाएको छ ।