गणतन्त्र दिवस : नवराजहरुले प्रेम गरेकै कारण कहिलेसम्म मर्न पर्ने हो कमरेड ?
काठमाडौं – आज १३ औं गणतन्त्र दिवस । दर्श बर्षे जनयुद्ध र १९ दिन जनआन्दोनको जगमा स्थापना भएको गणतन्त्र । २०५२ सालमा तत्कालिन नेकपा माओवादीले ४० बुदा मागसहित राजतन्त्र अन्त्यका लागि सशस्त्र जनयुद्धको सुरुवात गरेको थियो ।
तत्कालिन राजा ज्ञानेन्द्रको महत्वकाक्षाका कारण देशले नयाँ मोड लियो । सम्पूर्ण अधिकार आफ्ना हातमा लिएर राजनीतिक दलमाथि लगाएको प्रतिबन्दका कारण ७ राजनीतिक दल र माओबादीका बीचमा १२ बुदे सझौता हुन पुग्यो । त्यही सम्झौताको जगमा १९ दिने जनआन्दोलन भयो ।
लाखौं जनता राजतन्त्रको विरुद्धमा सडकमा ओर्लीए । दश बर्षे जनयुद्धमा करिव १७ हजार नेपालीले अकालमा ज्यान गुमाए भने दोश्रो जनआन्दोलनमा २४ जना सहिद भए । हजारौं घाइते छन । राजा ज्ञानेन्द्र जनतासँग घुणा टेक्दै २०६३ साल बैशाख ११ गते सम्झौता गर्न बाध्य भए ।
संसद पुनस्र्थापना भयो । ७ दल र माओबादीका मागहरु पुरा भए । पहिलो संविधान सभाको निर्वाचन भयो । तत्कालिन माओबादी पहिलो दल बनेर संसदमा छिर्यो । जनयुद्धको रापतापले चुनाव जितेर आएको माओबादीले संविधान सभाको पहिलो बैठकबाट गणतन्त्र स्थापना गर्न सफल भयो ।
- लेखक : शोभराज बराल
२०६५ साल जेठ १५ गते आजकै दिन संविधान सभाको पहिलो बैंठकले तत्कालिन राजा ज्ञानेन्द्र शाहलाई नाराणहिटी दरबारबाट नागर्जुन दरबारमा सार्ने निर्णय गर्यो । त्यहि दिनदेखि नेपाल स्वतन्त्र भयो । देशमा अव जनताको छोराछोरीले पनि राज गर्न पाउने भए । गणतन्त्र स्थापना भएको घोषणा भयो ।
देशमा राजालाई नाराणहिटीबाट नागार्जुन सार्ने बाहेर जनताले अपेक्षा गरेका केही उपलब्धिहरु पनि प्राप्त भएका छैनन् । गणतन्त्रका लागि १० बर्ष जनयुद्ध लडेर आफ्नो जीवन समर्पण गरेका योद्धाहरु गणतन्त्रमा पनि जेलको जीवन विताउन बाध्य छन । यस्तो अवस्था कसरी सृजना भयो ? हजारौं सहित, वेपत्ताका परिवारहरुको अवस्था नाजुक छ । उनीहरुलाई विहान वेलुका छाक टार्न मुस्किल छ ।
फरक राजनीति आस्था राखेकै कारण कुमार पौडेलहरुले अकालमा ज्यान गुमाउनु परेका छ । अन्तरजातिय प्रेम गरेकै कारण जाजरकोटका नवराज विकहरुले बलि चढ्नु परेको छ । जातिय मुक्ति आन्दोलनको नेतृत्व गरेका कमरेडहरुहरुको बर्ग फेरिएकै कारण उनीहरुको बोली पनि फेरिएको छ । देशमा गणतन्त्र आएको कोरो भाषण गरेपनि जनताले अझैंपनि गणतन्त्रको महसुस गर्न पाएका छैनन् । जनतामा निराशा छाएको छ । गणतन्त्रको विकल्पका लागि प्रेत आत्माहरु जुर्मुराउन थालेका छन ।
सांच्चै जनताले चाहेको गणतन्त्र कहिले आउला ? खाना नपाएर रोडमै तड्पिएर, पिल्सिएर धादिङका सूर्यबहादुर तामाङहरु कहिलेसम्म मरिरहने ? मद्येसका जनताले देशको अपनत्व ग्रहण कहिले गर्ने ? आदिवासी जनजातिहरुले अधिकारको लडाई कहिलेसम्म लडिरहने । कर्णालीका जनताहरु सिटामोल कुरेर कहिलेसम्म बस्ने ? नवराज विकहरु प्रेम गरेकै कारण कहिलेसम्म मर्ने ? बोक्सीको आरोपमा महिलाहरुले कहिलेसम्म अपमानित भइरहनु पर्ने ? निर्मला पन्तहरुले कहिलेसम्म असुरक्षित भइरहने ?
के दर्श बर्षे जनयुद्ध यसैका लागि थियो ? के १९ दिने जनआन्दोलन यसैका लागि थियो ? किन जनताले गणतन्त्रमा पनि सुरक्षित महसुस गरिरहेका छैनन् ? यस्ता प्रश्नहरुले फेरी एक पटक सोच्न बाध्य बनाएको छ । पूर्वकमरेडहरुको फेरीएको जीववशैलीले जनतामा निराशा छाएको छ ।
अहिले कागजका खोस्टाहरुमा कोरा अक्षरहरुले गणतन्त्र दिवसको शुभकामना भरेर मिडियामा छपाउन प्रतिशपर्दा चलिरहेको छ । कमरेडको विज्ञप्तिले के सूर्यबहादुर तामाङहरुले खाना पाउँछन ? मद्येसका जनताका अधिकारहरु नेपालको संविधानमा समावेश हुन्छन ? के नवराज विकहरु र निर्मला पन्तहरुले अकालमा ज्यान गुमाउन पर्दैन ? विज्ञप्तिले कर्णालीका जनताले सिटामल पाउँछन ? जातिय छुवाछुतको अन्त्य कहिले हुन्छ ? अनि भ्रष्टाचार अन्त्य पनि विज्ञप्तिले गर्ने होला !
तसर्थ, अहिले कुहिएर मक्किएको दलाल संसदिय व्यवस्था रहिरहुन्जे यस्ता कोरो विज्ञप्तिको केही अर्थ हुने छैन । जनताले न्याय, समानता र व्यक्तिगत सुरक्षाको अपेक्षा यो राज्यसत्तासँग नगरेकै राम्रो । हुनेखाना, आसेपासे, आफन्त र छोराछोरीबाहेक अरुले यो देशमा बाँच्ने अधिकार पनि छैन ।
यो अवस्था फ्याक्नका लागि फेरी एक पटक जनताले नयाँ विकल्प खोज्ने वेला आएको छ । जनताको मुक्तिका लागि फेरी एक पटक नव सामान्तबादका विरुद्धमा लड्ने वेला आएको छ । त्यसका लागि सबै जनपक्षिय शक्तिहरु एक जुट हुन आवश्यक छ । विकल्पका लागि तयार हुन जरुरी छ । कमरेडलाई नक्कली गणतन्त्र दिवसको शुभकामना ।

