सिलिण्डर ग्यास पट्कीदा ५ जना घाइते

शुक्रबार, १६ जेष्ठ २०७७

बनेपा – ग्यास लिक भई आगलागी हुँदा पाँच जना घाइते भएका छन । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–७ तरकारी बजारमा रहेको एक घरमा ग्यास लिक हुँदा पाँच जना घाइते भएका हुन ।

रुकेश ठकुरीको तीन तले घरको तेस्रो तलमा रहेको भान्छामा शुक्रबार बिहान ग्यास लिक भई आगलागी हुँदा घरधनी २६ वर्षीय रुकेश ठकुरी, उनका श्रीमती २४ वर्षीया शोफिया ठकुरी र डेढ वर्षीया छोरी रचना ठकुरीका साथै उनका आफन्त १६ वर्षीय आयुश ठकुरी र मनिष शाह ठकुरी घाइते भएको इलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ ।,

उनले तत्काल उद्धार गरी बनेपास्थित शिर मेमोरियल अस्पतालमा पठाएको र घाइतेको थप उपचारका लागि काठमाडौँस्थित कीर्तिपुर वर्न सेन्टरमा सिफारिस गरिएको इलाका प्रहरी कार्यलय बनेपाका प्रहरी निरीक्षक योगेन्द्र तिमिल्सिनाले जानकारी दिए । उनीहरुको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार कोठामा चुरोट सल्काउने क्रममा आगलागी भएको हो । ग्यास पाइपबाट ग्यास चुहिएको अवस्थामा चुरोट सल्काउने क्रममा त्यहीबाट आगो सल्केको भन्ने बुझिएको छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । आगलागीबाट भान्साकोठा पूर्णरुपमा क्षति भएको छ ।