ट्विटरले देखाईदियो आफ्नो शक्ति, डोनाल्ड ट्रमलाई हैरान

शुक्रबार, १६ जेष्ठ २०७७

काठमाडौं – अमेरिकाका विभिन्न शहरहरूमा भइरहेका हिंसात्मक प्रदर्शनका विषयमा राष्ट्रपति डोनल्ड ट्रम्पले गरेको एउटा ट्वीटलाई ट्विटरले लुकाएको छ ।

शुक्रवार ट्रम्पले मिन्नेसोटा राज्यमा प्रदर्शनकारीहरूले गरेको हिंसात्मक गतिविधिका विषयमा टिप्पणी गर्दै लेखे, ‘यी ठगहरूले जर्ज फ्लोयडको सम्झनाको अपमान गरिरहेका छन् र म त्यसो हुन दिन्नँ । भर्खरै मैले गभर्नर टिम वाल्जसँग कुराकानी गरें र उनलाई सेनाले पूर्ण साथ दिने कुरा बताएँ । कुनै अप्ठ्यारो पर्नेबित्तिकै हामीले नियन्त्रण लिइहाल्छौं तर लुटपाट शुरू भयो भने गोली चल्न थाल्नेछन् ।’

उक्त ट्वीटले हिंसालाई प्रोत्साहन गर्ने भन्दै यसबाट ट्विटरको नियम उल्लंघन भएको उक्त सामाजिक सञ्जाल कम्पनीको दाबी छ । तर सार्वजनिक चासोको विषय भएकाले ट्वीट डिलिट नगरी पहुँचमै राख्ने निर्णय लिइएको ट्विटरले जानकारी दिएको छ ।

काला जातिका मानिस जर्ज फ्लोयडलाई प्रहरीले पक्राउ गर्ने क्रममा घाँटी थिचेपछि सास फेर्न नसकेर मृत्यु भएको थियो । त्यसपछि प्रहरी दमनविरुद्ध अमेरिकाका विभिन्न ठाउँमा प्रदर्शन हुन थालेका छन् ।