भक्तपुरमा भेटियो अनौठो चोर !

शनिबार, १७ जेष्ठ २०७७

भक्तपुर – भक्तपुरमा अनौठो खालका चोरलाई प्रहरीले पक्राउ गरेको छ । मध्यपुर ठिमी नगरपालिका ६ बाहखा बजारस्थित एनआइसी एसिया बैंकको एटिएम फुटाउँदै गरेको अवस्थामा एक चोरलाई प्रहरीले पक्राउ गरेको हो ।

सिन्धुपाल्चोक कदम्बास घर भई हाल मध्यपुर ठिमी नगरपालिका ६ नगदेश बस्ने २१ बर्षीय सचिन तामाङलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको हो ।उक्त बैंकको एटिएम फुटाउँदै गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरी टोलीले तामाङलाई पक्राउ गरेको हो ।

तामाङको साथबाट मेशिन फुटाउन प्रयोग गरेको ह्याम्बर १ थान, स्क्रु १ थान, एटिएम मेसिनको बाहिरी कभर र रोलर (डण्डी) प्रहरीले बरामद गरेको छ ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।