कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु
काठमाडौँ – कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट थप १ जनाको मृत्यु भएको छछ । बाजुराकी दुई वर्षीया बालिकाको मृत्यु भएपछि कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ पुगेको छ ।
शनिबार राति करिब २ बजे ती बालिकाको मृत्यु भएको थियो । बुढीगंगा नगरपालिका–१ घर भएकी २ वर्षीया बालिकाको कोरोना भाइरसको कारण मृत्यु भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले पुष्टि गरे ।
८ दिनअघि उनको परिवार भारतबाट आएको थियो । भारतबाट आएका उनीहरुको परिवारलाई बुढीगंगा नगरपालिका–१ घुरालसैना माविको क्वारेन्टाइनमा राखिएको थियो ।
त्यहाँ अवस्था जटिल भएपछि १५ गते साँझदेखि आइसोलेसनमा राखिएको ती बालिकाको मृत्यु भएको हो ।
बालिकाको मृत्यु भएलगत्तै स्वाब संकलन गरेर पीसीआर परीक्षणका लागि धनगढी प्रयोगशाला पठाइएको थियो । आइतबार दिउँसो रिपार्ट आउँदा कोरोना पोजेटिभ देखिएको बताइएको छ ।