रुकुम हत्याकाण्ड : प्रहरीले भेटायो छुट्टै खालको प्रमाण, आजसम्म आएका सबै कुरा झुट
काठमाडौं – महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले रुकुम घटनाको विषयमा मिडियामा आएको सबैकरा झुट भएको बताएका छन । खरेलले मिडियामा आएभन्दा फरक तथ्यहरु प्रहरीले फेला पारेको बताएका छन् ।
संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको कानून, न्याय तथा मानवअधिकार समितिको मंगलबारको बैठकमा उपस्थित भएका महान्यायाधिवक्ता खरेलले घटनाको अनुसन्धानमा मिडियामा आएको भन्दा फरक तथ्यहरु फेला परेको बताए । उनले रुकुम घटनामा जे जति कुराहरु बाहिर आएका छन् त्योभन्दा फरक प्रमाणहरु अनुसन्धानको क्रममा भेटिएको उनको भनाई छ ।
उनले भने, ‘अहिले मिडियामा आइराखेका कतिपय चिजहरु जे कुरा आइराखेका छन्, अहिले अनुसन्धानमा त्यो कुरा म विनम्तापूर्वक भन्छु, त्यो देखिराखेको छैन् । अहिले जे लेखिराखिएको छ त्यो लेखिराखिएको कुरा म विनम्ब्रतापूर्वक भन्छु अनुसन्धानमा त्यो कुरा देखिएको छैन् । प्रमाणले त्यो कुरा पुष्टि गर्ने वाला छैन केही कुरा जुन कुरो मान्छेको व्यक्तिगत जीवनसँग अन्यन्त गम्भीर छन् । त्यो कुरा भन्नुभन्दा अगाडी दशचोटी सोच्नुपर्ने थियो, त्यो कुरा लेख्नुभन्दा अघि दशचोटी सोच्नुपर्ने थियो, त्यो कुरा लेखियो । तर अहिले मैले जोसँग सम्पर्क गरिराखेको छु, सरकारी वकिल र त्यहाँको डिएसपी जसले अनुसन्धान गरिराख्नुभएको छ, उहाँहरुलाई सोध्दाखेरी ती कुरा देखिएका छैनन् ।’
उनले कुनैपनि खालको प्रभाव अनुसन्धान र अभियोजनामा पर्न नदिने प्रतिबदता समेत व्यक्त गरे । उनले भने, ‘कुनैपनि खालको प्रभावहरु अनुसन्धान र अभियोजनामा पर्दैन् । म तपाइहरुलाई नेपाल सरकारको तर्फबाट महान्यायाधिवक्ताको हैसियतले ढुक्क हुनको निम्ति अनुरोध गर्छु । कुनैपनि खालको कसैको पनि भनाई त्यहाँ सुनिने छैन् । मैले जिल्ला प्रहरीलाई र जिल्ला सरकारी वकिललाई यति सम्म भनेको छु, तपाईलाई यदि कसैले फोन गर्छ भने कृपया त्यो फोन मलाई डाइभर्ट गरिदिनुस्, र मेरो टेलिफोन नम्बर दिनुहोस् यो विषयमा महान्यायाधिवक्ताले तपाइसँग कुरा गर्नुहुन्छ, उहाँसँग नै कुरा गर्नुहोस् भन्नुहोस् ।’
गृहमन्त्रालयका सचिव महेश्वर न्यौपानेले नेपाल प्रहरीको सम्बन्धित निकायले घटनाको अनुसन्धान सुरु गरेपनि त्यसलाई सघाउन र गृहमन्त्रालय अझ स्पस्ट हुनका लागि सहसचिवको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गरी अनुसन्धानलाई अगाडि बढाइएको बताए । उक्त समितिले सिफारिस गरेअनुसार पीडित पक्षलाई सरकारले सम्बोधन गर्ने समेत सचिव न्यौपानेले बताए ।